देवदह । देवदह नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु भएको छ । एमडीजीपी (Doctor of Medicine in General Practice - MDGP) को आगमनसंगै अस्पतालमा विशेषज्ञ सेवा सुरु भएको नगर प्रमुख ध्रुवप्रसाद खरेलले जानकारी दिए ।
सेतोमसीसंग कुरा गर्दै प्रमुख खरेलले विशेषज्ञ सेवाको सुरुवातसंगै नगर अस्पतालको सेवा विस्तार हुने बताए । 'अब नगर अस्पतालमा विशेषज्ञ स्वास्थ्यसंगै सेवा विस्तार हुन्छ ।' खरेलले भने, 'नगर अस्पतालको आफ्नै भवनबाट विशेषज्ञ सेवा दिने हाम्रो सपना पुरा हुँदैछ ।'
प्रमुख खरेलले नगर अस्पतालमा अन्य कर्मचारीसमेत थप गर्ने र सेवालाई व्यवस्थित गर्ने तयारी नगरपालिकाले गरिरहेको बताए ।
पाटन अस्पतालबाट एमडी गरेका डा. सुजन काफ्लेलाई नगरपालिकाले नगर अस्पतालको मेसुमा समेत नियुक्त गरेको छ । मंगलवार डा. काफ्लेलाई मेसु नियुक्त गरिएको देवदह नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
डा. काफ्ले दुई वर्षे अनिवार्य सेवा कार्यको लागि देवदह आएका हुन् । उनलाई आधारभूत सेवा सुविधा संघीय सरकारले नै दिने र केही सुविधा नगरपालिकाले थप गर्ने जनाइएको छ ।
अस्पतालमा २०७९ फागुन २१ देखि स्वास्थ्य बीमा सेवासमेत सुरु भएको छ । जहाँ प्रसूति सेवा र सरकारले दिने ९८ प्रकारका औषधिसहितका सेवाहरु निःशुल्क उपलब्ध छन् ।
२०५३ असार २६ गते तत्कालिन देवदह गाँउ विकास समिति अन्तर्गत ९ वटा वडाहरुमा स्वास्थ्य सेवा दिने उद्देश्यले उप-स्वास्थ्य चौकीको रुपमा स्थापना भएको र २०७१ देखि स्वास्थ्य चौकीको रूपमा रहेको देवदह स्वास्थ्य चौकीमा २०७९ साल आश्विन १० गतेदेखि नगर अस्पताल संचालित छ ।
आगामी असोज १० गतेदेखि नयाँ भवनबाट सेवा प्रवाह गर्ने गरी काम भइरहेको नगरपालिकाले जनाएको छ ।
हाल १० शैय्या अस्पतालको रुपमा संचालन भइरहेको नगर अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक, २ जना मेडिकल अधिकृत, ३ जना पारामेडिक्स, ७ जना नर्सिङ्ङ्ग, प्रयोगशाला तर्फ ३ जना, फार्मेसी सहायक १ जना, रेडियोग्राफर १ जना, २ जना कार्यालय सहयोगी, १ जना स्वीपर तथा २ जना सुरक्षा गार्ड गरी जम्मा २३ जना कर्मचारीहरु रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology