बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले विचारधारा (आईडियोलोजी) र प्रविधिको (टेक्नोलोजी) संयोजनबाट प्रदेश सभालाई थप प्रभावकारी बनाइने बताएका छन् ।
बुटवलमा शनिबार सम्पन्न ‘कृत्रिम बौद्धिकता (AI) को उपयोगिता विषयक अभिमुखिकरण कार्यक्रम’ को उद्घाटन गर्दै सभामुख घर्तीले प्रदेशसभाका कार्यलाई जनताको पहुँचमा पुर्याउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको उल्लेख गरे ।
‘हामीले विचारधारालाई सधैं प्राथमिकता दिएका छौं, विचारधारा बिना शासन प्रणाली सुदृढ हुन सक्दैन’, सभामुख घर्तीले भने, ‘तर प्रविधिलाई पनि जोड्न सकेमा यो प्रक्रिया अझै प्रभावकारी बन्छ ।’
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गत संसद् सहयोग परियोजनाको आयोजनामा सञ्चारिका समूह लुम्बिनीको सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घर्तीले सांसदहरूलाई प्रविधिमैत्री बनाउन अभिमुखिकरण उपयोगी हुने विश्वास व्यक्त गरे ।
‘हामीले अब माननीयहरूलाई आईडियोलोजीका साथै टेक्नोलोजीमा पनि जोड्नुपर्ने आवश्यकता छ’, उनले भने, ‘यो अभिमुखिकरण कार्यक्रम त्यसको थालनी हो ।’
कार्यक्रममा लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाड केसी, प्रदेशसभा सदस्यहरू तथा सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोलको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology