काठमाडौँ । नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।
बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै देशकै उत्कृष्ट बैङ्कको रुपमा आफूलाई स्थापित गरेको छ । बैंकले वित्तीय सेवा मात्र नभइ समाज र वातावरणमै सकारात्मक प्रभाव पार्ने दिगो बैंकिङलाई पनि प्राथमिकता दिँदै आएको छ ।
४१औँ वार्षिकोत्सवका अवसरमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज कुमार ज्ञवालीले नबिल बैंकले राष्ट्रको आर्थिक समृद्धिमा आफ्नो निरन्तर योगदानलाई गर्वका साथ स्मरण गर्दै आगामी दिनमा पनि उत्तरदायी, नवीन र दिगो बैंकिङ अभ्यासमार्फत अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, शेयरधनीलगायत सरोकारवालालाई यहाँसम्म आइपुग्नका लागि दिएको साथ र सहयोगका लागि आभार व्यक्त गरे ।
स्थापनादेखि नै कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाह गर्ने पहिलो संयुक्त लगानी बैंकको रूपमा परिचित नबिलले आजको डिजिटल युगसम्म आइपुग्दा प्रविधि प्रयोगमा अग्रणी स्थान बनाउन सफल भएको छ । मुलुकको आधुनिक बैंकिङका लागि पर्याय बनेको नबिलले सरकारको मौद्रिक तथा राजस्व नीतिअनुरुप वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले विगत चार दशकमा आफ्नो पहुँच र प्रभाव दुवैलाई विस्तार गर्दै अगाडि बढेको छ ।
बैंकले २०८२ असार २६ सम्म कूल ४ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा व्यवस्थापन गरेको छ भने ५ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । बैंकले सुरुआती दिनदेखि आजसम्म वित्तीय क्षमता मात्र नभइ ग्राहकको विश्वास र संस्थाको मजबुत आधारशिला स्थापना गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology