बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आगामी वर्षको कार्ययोजना तथा बजेट व्यवस्थापन बारे मँगलवार अन्तरक्रिया भएको छ । अन्तरक्रियामा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवा बिस्तार गरी आन्तरिक स्रोतको विकास तथा सेवाग्राहीलाई थप सहज हुनेगरी अघि बढ्न निर्देशन दिए ।
अस्पतालको प्रयोगशाला विभागलाई थप विश्वसनीय र छरितो बनाउनु पर्ने, रेडियोलोजी विभागलाई व्यवस्थित गराउँदै लैजानु पर्ने, क्याथल्याव सेवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, प्रसुती सेवालाई अझ व्यवस्थित बनाउँदै रातको समयमा समेत गुणस्तरीय सेवा दिनुपर्ने लगायतका सुझाबसहित सुधारका कार्यलाई अघि बढाउन अध्यक्ष श्रेष्ठले निर्देश गरे ।
मितव्ययीतासँगै स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउने सवालमा आफू प्रतिवद्ध भएको बताउँदै उनले अस्पताल प्रशासन, चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी परिवार सोही अनुसार प्रतिवद्ध भएर लाग्न आग्रह गरे ।
यसैगरी अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले स्वास्थ्य सेवालाई थप गुणस्तरीय र सर्वशुलभ बनाउनका लागि आवश्यक उपकरण खरिद तथा संरचनाहरुको व्यवस्थापनका लागि आगामी वर्षको कार्ययोजनामा समावेश गरिएको जानकारी गराए । अस्पतालको अत्याधुनिक भवन निर्माणाधिन अवस्थामा रहेकाले अहिलेको पुरानो संरचनामा लगानी गर्ने कुरालाई मितव्ययीता अपनाइने भएपनि आधारभूत र अत्यावश्यक कुराहरुका लागि भने कुनै कमी हुन नदिनेगरी योजनावद्ध रुपमा अघि बढेको जानकारी दिए ।
अस्पतालमा सञ्चालन हुन लागेको एमआरआई मेसिनका लागि जनशक्तिको व्यवस्थापन, सिटी स्क्यान मेसिन थप गरी सञ्चालन गर्ने तयारी, रातको समयमा पनि ड्युटी अफिसर राखेर गुणस्तरीय सेवा प्रदान गर्ने, एमडीएमएस अध्यापनका लागि सम्भाव्यता अध्ययन लगायतका योजनाहरु अघि बढाइएको उनले बताए । यसैगरी अस्प्तालमा ४५ बेडको वार्ड बिस्तार गरी आउदो दशै भित्र सञ्चालनमा ल्याउन तीब्रताकासाथ काम अघि बढेको उनले बताए ।
अन्तरक्रियामा अस्पतालका विभागीय प्रमुखहरुको समेत सहभागिता थियो । उनीहरुले आफ्नो विभागा भएका जनशक्तिको अवस्था, स्वास्थ्य उपकरणहरुको अवस्था तथा सेवाको स्तर लगायत विषयमा जानकारी गराउनुका साथै आगामी वर्षका लागि आवश्यक योजना तथा बजेट व्यवस्थापनका बारेमा सुझाब प्रस्तुत गरेका थिए ।
विभागीय प्रमुखहरुले दक्ष जनशक्तीको व्यवस्थापन, उपकरणहरुको मर्मत सम्भार तथा नयाँ खरिदका साथै इक्वीपमेन्ट लाइब्रेरीको व्यवस्था, फार्मेसी सेवातर्फ सेवाग्राहीलाई परामर्श कक्षको व्यवस्था लगायत विषयलाई आगमी वर्षको योजनामा समावेश गर्न आग्रह गरेका थिए । नेपाल सरकारबाट बीमा सेवातर्फ समयमा रकम भुक्तानी नुहँदा आर्थिक समस्या झेल्नु परेको उनीहरुको गुनासो थियो ।
कार्यक्रमको सहजीकरण गर्दै अस्पतालका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत राजन केसीले अस्पताल विभागहरुबाट प्राप्त मौखिक तथा लिखित सुझावहरुलाई संकलन गरिएको बताउँदै आगामी वर्षको कार्ययोजनामा समावेश गरिने प्रतिवद्धता व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology