सुनवल । पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ८ मा निर्माणाधीन ३३ केभी क्षमताको विद्युत प्रसारण लाइन जडानविरुद्ध स्थानीयबासी आन्दोलित भएका छन् । सिरानटोलदेखि अरनीको बस्तीसम्म जाने लाइनले १५०० घरधुरी प्रभावित हुने भन्दै स्थानीयले प्रसारण लाइन जडान गर्न नदिने अडान लिएका छन् ।
स्थानीयले संघर्ष समिति र मुद्धा दर्ता समिति गठन गरेर आन्दोलन र कानुनी उपचार संगसंगै अगाडि बढाएको बुझिएको छ ।
संघर्ष समितिका संयोजक सानुबाबु श्रेष्ठले प्रसारण लाइनले नागरिकलाई प्रत्यक्ष असर गर्ने बताए । उनले ५०० घरधुरी प्रयक्ष प्रभावित हुने र सिंगो वडामा रहेका १५०० घर धुरी नै समस्यामा पर्ने भएकोले लाइन जडान गर्न नहुने बताए । 'हामीमध्ये धेरैसँग १/१ कठ्ठा मात्र जग्गा छ । ४ मिटर बाटोले लग्यो, अब ९ मिटर विद्युतले लग्ने भयो ।' उनले भने, 'यसरी त हामी विस्तापित हुने भइयो । त्यसैले संघर्ष गर्नु बाध्यता बनेको छ ।'
संयोजक श्रेष्ठले प्रमुख जिल्ला अधिकारीले प्रहरीको 'पल्टन' पठाएर महिला तथा बालबालिकामाथि हातपात गर्न आदेश दिएको भन्ने आक्रोश पोखे । जबर्जस्ति गर्न खोजिए आफुहरु भिड्न तयार रहेको उनको भनाइ छ ।
त्यस्तै स्थानीयले बनाएको मुद्धा दर्ता समिति संयोजक देउकुमारी दवाडीले आफुहरु जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारीमा रहेको जानकारी दिइन् । अदालतले काम रोक्ने आदेश दिन्छ की भन्ने आसले अदालत जान लागिएको उनले बताइन् । 'विकासका नाममा हामीलाई उठिबास लगाउने काम भयो ।' उनी भन्छिन्, 'यदि काम रोकिएन वा मुवाब्जा दिइएन भने हामीसँग अदालत जाने विकल्प मात्र बाँकी छ।'
आफुहरुलाई ३३ केभी लाइन छेउको जग्गा भनेर बैंकले ऋण नदिएको उल्लेख गर्दै उनले लालपुर्जा हातमा लिएर सुकुम्बासी हुन कोही नचाहने बताइन् ।
नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रका इन्जिनियर रामशंकर शाहको भनाइ भने फरक छ । उनले २०७८ सालमा स्थानीयसंग सहमति लिएर रुट बनाइएको बताए । अहिले पोलपनि गाडिसकेको र राज्यको ५-६ करोड लगानी भैसकेको अवस्थामा पछाडि फर्किन सम्भव नहुने बताए ।
'हामीसँग विकल्प छैन । यो लाइन परासीमा लगेर इन्डियन लाइनमा जोड्नुपर्छ ।' उनले भने, 'राज्यको लगानी भैसकेको छ । जति गाह्रो भए पनि काम अघि बढ्छ ।'
स्थानीयले कुरा नबुझ्दा समस्या आएको इन्जिनियर शाहले बताए । उनी भन्छन, 'अहिले जोड्न लागिएको लाइन ३३ केभी भएपनि १३३ केभी हो भन्ने स्थानीयको बुझाइ छ । ३३ केभी प्रसारणमा बैंकको पनि समस्या हुन्न र ९ मिटर छोड्नुपर्ने हुदैन । यो सामान्य प्रसारण हो । स्थानीयले कुरा नबुझ्दा समस्या भयो ।'
तत्कालीन वडा अध्यक्ष निलकण्ठ गैरेको सहमतिमा २०७८ सालमा सार्वजनिक सुनुवाइ समेत भएर काम अगाडि बढेकोले स्थानीयले अहिले आएर हामीलाई थाहा थिएन भन्न नहुने प्राधिकरणको भनाइ छ ।
'त्यतिबेला नै स्थानीयको भनाइमा आधारित भएर ट्रान्सफर राखियो, पोलको संख्या घटाइयो, तर अहिले आएर विरोध गर्नु आश्चर्यको कुरा हो,' प्राधिकरणका अर्का एक अधिकारीले सेतोमसीसंग भने ।
नवलपरासी (ब.सु.पश्चिम) का प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले काम रोकिने अवस्था नरहेको बताए । पालिकाले लिखित रूपमा लाइन जडानको सिफारिस गरिसकेको हुनाले काम अघि बढेको उनले बताए ।
विद्युत जडानले कसैलाई असर नगर्ने उल्लेख गर्दै उनले केही स्थानीयको इगोका कारण समस्या देखिएको बताए ।
स्थानीयसंग मुठभेट गर्न नभइ नगरपालिकाको अनुरोधमा शान्ति सुरक्षाको लागि प्रहरी पठाइएको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाइ छ ।
सुनवल नगरपालिका नगर प्रमुख विमला अर्यालले स्थानीय, प्राधिकरण र प्रशासनसंग नगरपालिकाले समन्वय गरिरहेको बताइन् ।
'तत्कालिन अवस्थामा २०७८ सालमा सहमति जनाइएको र सार्वजनिक सुनुवाई समेत भएको हुनाले प्राधिकरणले काम अघि बढाएको छ ।' उनले भनिन्, '३३ केभी प्रसारण लाइन बजारबाट नै जाने हो, यसले असर गर्दैन भन्ने प्राधिकरणको तर्क छ । हामी कसरी स्थानीयलाई असर नहुनेगरी काम गर्ने भन्नेमै केन्द्रित छौं ।'
प्रमुख अर्यालले बैंकका म्यानेजरसंग समन्वय बैठक गरिएको र २.५ मिटर मात्र मुल्यांकन नहुने अरु सबै मुल्यांकन हुने व्यवस्था रहेको बैंकले जानकारी दिएको बताइन् ।
७५३ वटा पोल गाडिएकोमा मात्र ६ वटा पोलमा समस्या देखिएको उनको भनाइ छ ।
'कुनै अप्रिय घटना हुन दिन्नौं आयोजना पनि अगाडि बढ्ने, नागरिक पनि खुसी हुने बाटोबाट नै अगाडि बढ्छौं' उनले भनिन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology