देवदह । रुपन्देहीको देवदह नगरपालिका–५ खैरेनीमा निर्माण भइरहेको नगर अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणको सुरुवातदेखि नै कहिले कानुनी अड्चन त कहिले ठेकेदारको लापरवाहीले अन्यौलग्रस्त बनेको अस्पताल भवन निर्माणले गतसालदेखि गति लिएको हो ।
काम छोडेर हिडेको ठेकेदार कम्पनिलाई 'कन्भिन्स' गरेर नगर प्रमुख, उपप्रमुख तथा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले अलपत्र परेको भवन निर्माण कार्यलाई गति दिएका थिए ।
हाल भवनको भौतिक प्रगति ८० प्रतिशत भएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख ध्रुव प्रसाद खरेलले नगर अस्पताल स्थापनाकै दिन नयाँ भवनबाट अस्पतालले सेवा दिने गरि काम भैरहेको बताए ।
झन्डै तीन वर्षअघि उद्घाटन भएको नगर अस्पताल अहिले पनि साबिकको स्वास्थ्य चौकीको भवनबाट सञ्चालनमा छ । सुविधा सम्पन्न नयाँ भवनबाट सेवा सुरु गरेपछि यसले प्रवाह गर्ने सेवा पनि थप गुणस्तरीय हुने प्रमुख खरेलले बताए ।

'भवन आधुनिक हुनेछ । यसले देवदह मात्र नभएर आसपासका पालिकाका नागरिकलाई पनि गुणस्तरीय सेवा प्रदान गर्ने छ ।' प्रमुख खरेलले भने, 'त्यसको सबै व्यवस्थापन देवदह नगरपालिकाले गर्छ ।'
नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले भवनको भौतिक पूर्वाधारको काम तिब्र गतिमा अघि बढिरहेसंगै प्रदेश सरकारसंग नगर अस्पतालको लागि आवश्यक उपकरण खरिदमा सहयोग गर्न आग्रह गरिएको बताइन् । 'हामी देवदहको जनप्रतिनिधि भएको नाताले हाम्रो सरोकार देवदह नगरपालिका हो, प्रदेश र संघलाई पनि हामीले दबाब दिइनै राखेका छौं ।' उनले भनिन्, 'नयाँ भवनमा सरेपछि नगर अस्पतालले दिने सेवाको व्यापकतासंगै गुणस्तरमा पनि वृद्धि हुन्छ ।'
करिब ६४५ वर्गमिटर क्षेत्रफलमा फैलिएको तीन तले भवनमा १५ शैयाको देवदह नगर अस्पताल संचालन हुनेछ । भवनमा अपाङ्गता भएका व्यक्तिका लागि र्याम्पको सुविधा समेत राखिएको छ ।
अस्पतालको मुख्य भवनको झन्डै ८० प्रतिशत काम सकिएको छ भने अहिले फिनिसिङको काम भइरहेको छ । रंगरोगनको काम दुई महिनाभित्र सम्पन्न गरेर असोज १० गते नयाँ भवनमा नगर अस्पताल सार्ने नगरपालिकाको योजना छ ।
२०७६/७७ मा ओम सत्य साई, भीमज्योति र ओम इन्फ्राटेक भरतपुर चितवन कम्पनीसँग ६ करोड ७५ लाख रुपैयाँमा सम्झौता गरिएको थियो । २०७७ को कार्तिकमा निर्माण सुरु भएको हो । हालसम्म समग्र निर्माणको भौतिक प्रगति ६७ प्रतिशत र आर्थिक प्रगति ५७ प्रतिशत पुगेको सहायक प्राविधिक सुदीप खरेलले बताए ।
हाल नगर अस्पतालमा एक्सरे, प्रसूति सेवा र सरकारले निःशुल्क दिने औषधिहरू उपलब्ध छन् । २०७९ फागुन २१ देखि स्वास्थ्य बीमा सेवा पनि सुरु भएको छ ।
स्वास्थ्य शाखा प्रमुख काशीनाथ बञ्जाडेले नयाँ भवन बनेपछि प्रसूति अप्रेसनदेखि बिरामीलाई भर्ना गरेर उपचार गर्न सकिने बताए । ज्येष्ठ नागरिक र विपन्न परिवारको लागि औषधोपचार सहज हुने उनले बताए ।
अस्पतालको निर्माणमा प्रदेश सरकारको सहयोग नपुगेको नगर प्रवक्ता गणेश डुम्रेले बताए । संघीय सरकारबाट बजेट छुटेको भए पनि भवनको डिपिआर मोडल नमिलेको कारण खर्च गर्न नसकिएको उनले बताए । 'प्रदेशबाट आगामी आर्थिक वर्षका लागि उपकरण खरिदका लागि १० लाख रुपैयाँ छुट्याइएको छ । तर यति सानो रकम प्रयाप्त छैन' प्रवक्ता डुम्रेले भने ।
चालु आर्थिक वर्षमा ९० लाख रुपैयाँ बजेट आएको र आगामी वर्षका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको प्राविधिक प्रमुख राजकुमार यादवले जानकारी दिए । सम्झौताअनुसार अझै २ करोड ९६ लाख रुपैयाँ बराबरको काम बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
सुविधा सम्पन्न भवनबाट नगर अस्पतालले सेवा सुरु गर्ने दिन नजिकिदै गर्दा स्थानीयवासीहरु उत्साहित छन् । स्थानीय शान्ता सापकोटा र नरेश चौधरीले नयाँ भवनबाट सेवा सुरु भएपछि नियमित स्वास्थ्य परिक्षण, सुरक्षित प्रसूति सेवाजस्ता सुविधा सहज रुपमा प्राप्त हुने भन्दै खुसी व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology