देवदह । नवलपरासी पश्चिम सुनवल नगरपालिका वडा नं ७ का चिनक कडरीयको असार १४ गते मृत्यु भयो । आपसी जग्गा विवादका कारण छिमेकी ४० बर्षिय रामसिंह पासीको कुटपिटबाट ५५ बर्षिय चिनकको मृत्यु भएको कडरिया परिवारको दावी छ ।
चिनकको सीमानामा पर्ने आफ्नो जग्गामा जेसीभि मेसीनको प्रयोग गरेर केहि समयअघि रामसिंहले जग्गा सम्याउने कार्य गरेका थिए । जग्गा सम्याउने क्रममा साधीँमा गाडिएको पिल्लर फरक ठाउँमा ढलेको देखेपछि चिनकका छोरा धनराज कडरीया त्यसबारे बुझ्न गएका बेलादेखि सुरु भएको विवाद अन्त्यमा मृत्युसम्म पुग्यो ।
जगा सिमाबारे विवाद बढ्दै गएपछि रामसिंह र धनराजको विचमा सुरुमा हात हालाहालको स्थिति बन्यो । हात हाल्ने मात्र होइन, नजिकै भएको कोदालो समाएर रामसिंहले धनराजलाई प्रहार गर्ने उद्धेश्यले केही परसम्म लखेटेका थिए । लखेट्ने क्रममा रामसिंह पछारिएपछि उनले धनराजलाई भेट्टाउन सकेनन् । धनराज भागेर ज्यान जोगाउन सफल भए । तर रामसिंहको निशानामा परे धनराजका बुवा चिनक ।
रामसिंहले छोरालाई कोदालो लिएर लखेटेको देखेपछि धनराज विवाद भएको स्थानमा पुगेका थिए । एक स्थानीय महिलाले भनिन्, 'हामी खेतमा काम गरिरहेका थियौं साँझको करिव ६ बजेको थियो । कुरा यहि असार १२ गतेको हो । जुनबेला खेतमा रामसिंह र अन्य छिमेकीहरुको समेत रोँपाई चलिरहेको थियो ।'
रोपाईँका लागि बिउ गोड्दै गरेकी प्रत्यक्षदर्शी महिलाले थपिन्, 'रामसिंहको पनि रोँपाई चलिरहेको थियो, उनी बाहिर कता गएका थिए । खेतमा रोपाईँ भएकाले होला साँझपख उनी खेलमा आए । रोपाई पनि विवादित जग्गा (खेतको गरा) मा भएकाले यसरी सिमानाको पिल्लर किन सर्यो ? यसलाई मिलाउनुपर्यो भनेर चिनकको छोरा रामसिंहसँग पुगेको हुन सक्छ । तर विषय विवादमा पुग्यो र छोरासँगको विवादपछि चिनक आएकाले उनलाई रामसिंहले पहिला दाउराले प्रहार गरे र पछि हात र लात्ताले समेत हिर्काए ।'
रामशंकरको कुटपिटबाट असहज महसुस गरेका चिनक सुरुमा घर पुगे । परिवारको साथमा आराम गरे । उनले कुटपिटपछि आफ्नो कोखामा मन्द दुखाई भएको परिवारलाई बताएका थिए । झगडा साम्य हुँदासम्म रात परिसकेकाले भोलि बिहान मेडिकल जाने परिवारमा सल्लाह गरी सबैजना सुते । चिनकका छोरा धनराजले भने, ‘बुवाले दुख्यो भन्दै छटपटाइरहनु भएको थियो । हामीपनि बुवाले ऐया र आत्थो गर्न लागेपछि निदाउन सकेनौं । बिहान १० बजेसम्म पनि दुखाई कम भएन । बुवा झन् दुख्यो भन्दै बेस्सरी छटपटाउन थाल्नुभयो । त्यसपछि हामिले बुवालाई देवदह खैरेनी स्थित श्रीकृष्ण पोलीक्लीनिकमा लग्यौं ।’
कुटपिटको केस भएको र बिरामी आत्तिएको देखेपछि क्लिनिकका कर्मचारीले बिरामी हेर्न खासै चासो दिएनन् र प्रहरीलाई खबर गरे । देवदह प्रहरीका प्रतिनीधि त्यहाँ पुगे । सबैको सल्लाहमा श्रीकृष्णमा उपचार सम्भव नहुने देखिएपछि आफुहरुले बुवालाई तुरुन्तै भलुही मेडिकल कलेज पुर्याएको धनराजले सेतोमसीलाई बताए ।
चिनकलाई परिवारले थप उपचारको लागि १२ः३७ बजे भलुही मेडिकल कलेज पुर्याएको हस्पिटलको एडमिट कार्टमा उल्लेख छ । कुटपिटको घटना भएकाले मेडिकल कलेजमा पनि प्रहरी पुग्ने नै भयो । प्रहरीले सोधपुछ गर्यो । त्यहाँ सबैकुरा बताएर चिनकलाई भर्ना गराईयो । मेडिकल कलेजमा भर्ना भएका चिनकको स्वास्थ्य अवस्था सुध्रिएला भन्दा झनझन जटिल बन्दै गयो । मेडिकल कलेजमा भर्ना भएको २-३ घण्टापछि उनलाई सघन उपचार कक्ष ((आइ.सि.यु) मा राखेर उपचार गर्नुपर्ने स्थिति बन्यो ।
चिनकलाई उपचार गर्न ल्याउँदा उनको परिवारसँग पैसा थिएन । सामान्य दुखाई होला भनेर घरमा भएको पैसा झारझुर गर्दै ३ हजार रुपैंया जम्मा पारेर स्थानीय मेडिकलमा उपचारका लागि निस्किएका उनीहरु आईसीयूसम्म पुगे । चिनकलाई थप उपचारको आवश्यकता थाहा पाएपछि रामसिंहले उपचार खर्च भनि २० हजार रुपैंया एम्बुलेन्स चालकको हातमा पठाएका थिए । धनराजले भने, ‘सायद छिमेकीहरुले गालि गरे होलान्, उसलाई आफुले गल्ति गरेको महसुस पनि भयो होला, त्यसैले हामीलाई हस्पिटल पुर्याएर फर्किएका एम्बुलेन्स चालकलाई उपचार खर्च दिएर पठाएका रहेछन् ।'
चिनकले रामसिंहलाई एकबर्ष अघि ५ कठ्ठा जमिन बिक्रि गरेका थिए । छोरा धनराजले ट्याक्टर किन्ने रहर गरेको र छोरालाई ट्याक्टर किन्दा लाखेको ऋण तिर्न छिमेकी रामसिंहले पैसा लगानी गरिदिएका थिए । पछि उक्त पैसा कडरिया परिवारले फिर्ता गर्न नसकेपछि चिनकको नाममा रहेको ५ कट्ठा जग्गा ६ लाख प्रतिकठ्ठाको दरले हिसाव गरेर रामसिंहले सकारेका थिए ।
आफैले बिक्रि गरेको जग्गाको साँधीमा गाडिएको पिल्लर करिव ३ फिट सारेर रामसिंहले अतिक्रमण गरेको भन्दै चिनकका छोरा धनराजले यसअघि पनि बारम्बार रामसिंहलाई भन्ने गरेका थिए । ‘घटना हुने दिन रामसिंहको खेतमा रोपाईँ चलिरहेको थियो, रोपाईँ चलिरहेका बेला रामसिंह आएको देखेर म त्यहाँ गएको थिए ।’ विवाद बढ्दै गएपछि यस्तो घट्ना घटना घट्न पुग्यो चिनकका छोरा धनराजले भने ।
जग्गा विवादपछि रामसिंहको कुटाईबाट घाईते रामसिंहलाई परिवारले आईसियूसम्म पुर्याए पनि उनलाई जिउँदो फर्काउन सकेन । करिव १८ घण्टा मृत्युसँग लडेका चिनकलाई अन्ततः अस्पतालले असार १४ गते बिहान ६ः४८ मा मृत घोषणा गर्यो । मृत घोषणासंगै कडरीया परिवारको खम्बा ढल्यो ।
कडरिया परिवारले चिनकको मृत्यु दुई दिनपछि भएपनि त्यसको कारण कुटपिट भएको दावी गरेको छ । सोही दावीका कारण कडरीया परिवारले चिनकको शव बुझ्न अस्वीकार गरेको छ । बुटवल स्थित शवगृहमा बुवाको मृत शरिर छोडेर आएका धनराजले भने, ‘बुवालाई कुटपिट गर्ने रामसिंह कारवाहीको भागेदार हुनुपर्यो ।’
कुटपिट गर्ने रामसिंह अहिले प्रहरी हिरासतमा छन् । तर धनराजलाई लागिरहेको छ पैसा र पावर प्रयोग गरेर उनी उम्कने त होइनन् ! धनराजले आफुलाई रामसिंहका केहि व्यक्तिले १०-१५ लाख रुपैंया बुझेर केस मिलाउन दवाव दिईरहेको समेत खुलासा गरे । उनले भने, ‘अघिल्लो दिनसम्म बुवा आफ्नो भाउजु किस्मती कडरीयाकोमा काम गर्न जानुभएको थियो । बुवामा अरु कुनै स्वास्थ्य समस्या थिएन । भलुही मेडिकल कलेजको एक्सरे रिपोर्ट तथा सिटिस्क्यान रिपोर्ट हेरेर डाक्टरले पनि छातिमा चोटका कारण मृत्यु भएको मलाई भनेका थिए । तर रामसिंहका मान्छेहरुले पैसा बुझेर केस फिर्ता नलिएता पनि आफुहरुले रामसिंहलाई धरौटीमा रिहा गराउने धम्की दिन थालेपछि बाध्य भएर मिडियामा आएको धनराजले बताए ।
कुटपिटपछि जानकारी पाएको सुनवल प्रहरीले रामसिंहलाई खोजतलास गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख ईन्सपेक्टर सन्तोष पौडेलले आफुलाई जानकारी हुनासाथ रामसिंहको खोजी गरेको र उनलाई सुनवलस्थित पिके पेट्रोल पम्प नजिकैबाट नियन्त्रणमा लिएको बताए । इन्सपेक्टर पौडेलले भने, ‘सुरुमा उनको मोबाइल स्वीचअफ थियो । हामीले खोजि कार्य निरन्तर गरिरहेका थियौ । पछि पेट्रोल पम्प नजिकैबाट सम्पर्कमा आए । त्यसपछि उनलाई थप अनुसन्धानको लागि जिप्रका पठाएका छौं ।’
जिल्ला प्रहरी कर्यालयले पिडित परिवारको जाहेरीको आधारमा रामसिंहलाई ज्यान सम्बन्धि कसुरमा जिल्ला अदालत परासीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी विरदत्त पन्तले भने, 'पिडितको जाहेरी आइतवार मात्र प्राप्त भएको छ । हामीले अनुसन्धानको लागि सम्मानित जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर ल्याएका छौं । सुरुवाती चरणमा आरोपीत रामसिंहसँग बयान लिने काम हुनेछ । अन्य अनुसन्धानको प्रकृया त अघि बढिरहेकै छ ।’
त्यसो त चिनकको पोष्टमार्टम रिपोर्ट हालसम्म परिवारले प्राप्त गरेको छैन । तर रामसिंहको तर्फबाट राजनीतिक लविङ्ग, पिडक भएपनि उसको घरमा ठुलाबाडा र नेताहरुको आउजाउ, आफुलाई देखाएको आर्थिक प्रलोभन जस्ता कारणले कतै आफुहरुले न्याए नपाउने हो की भन्ने चिन्ला लाग्ने गरेको छोरा धनराजले बताए ।
'यताको प्रेसर त छदैछ, पोष्टमार्टम गर्ने समयमा समेत डाक्टर ३-४ पटक फोनमा कुरा गर्दै भित्रबाहिर गरेको दृष्यले मलाई झस्काइरहेको छ । कतै डाक्टरलाई पनि मलाई जस्तै प्रलोभनमा पो पारे की ?’ धनराजले भने, ‘उनीहरुले बुवाको शव बुझ्न दवाव दिईरहेका छन् । मलाई शव होइन, न्याय चाहिएको छ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology