देवदह । ‘एक पृथ्वी एक स्वास्थ्यको लागि योग’ भन्ने मूल नारासहित बुटवलमा एघारौं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
पतञ्जली योग समिति रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा बोल्दै बुटवल उप-महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले योगलाई आध्यात्मिक अभ्यास मात्र नभइ वैज्ञानिक रुपमा प्रमाणित स्वस्थ जीवनको अभ्यासका रूपमा लिनुपर्ने धारणा राखे ।
उनले भने, ‘नियमित योगले दिमागलाई शान्त राख्छ, आत्मबल बढाउँछ, र जीवनशैली अनुशासित बनाउँछ ।’ नगरपालिकाले आगामी दिनमा विद्यालय र समुदाय स्तरमा योग प्रशिक्षणलाई प्राथमिकतामा राख्ने प्रमुख पाण्डेले बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सुनौलो विहानीका अध्यक्ष विष्णुमाया श्रेष्ठ, जनप्रतिनिधि गंगादत्त पौडेल लगाएतले बालकदेखि वृद्धसम्म सबैको स्वास्थ्यमा सुधार ल्याउन योगले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनीहरुले योगलाई समुदाय स्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए ।
पतञ्जली योग समिति रुपन्देहीका अध्यक्ष अधिवक्ता राजन नेपालको अध्यक्षता, उपाध्यक्ष रामप्रसाद शर्माको स्वागत र महिला पतञ्जली योग समिति रुपन्देहीका अध्यक्ष सरस्वती बश्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
छ सय १५ जना योग अभ्यासकर्ताहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा प्रशिक्षकहरूले सहभागीहरूलाई नियमित योग अभ्यासले मधुमेह, उच्च रक्तचाप, मानसिक तनाव, पेटसम्बन्धी समस्या लगायत रोगहरूको नियन्त्रण र निवारणमा सहयोग पुग्ने विषयमा प्रष्ट पारेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology