देवदह । रुपन्देहीको देवदहमा सहकारीमा लेखा व्यवस्थापन, कर व्यवस्थापन तथा E-TDS सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ रुपन्देहीको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा तालिममा भएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनको लागि नगरपालिका सकारात्मक रहेको धारणा राखे । संविधानले सहकारीका क्षेत्रहरु किटान गरेकाले आम समुदायको जिवनस्तर उकास्न यसले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा प्रमुख खरेलले जोड दिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचनले सहकारीमा हुने अनियमितालाई न्यूनीकरण गर्न अनुगमनको पाटोलाई व्यवस्थित बनाएर लैजानुपर्ने धारणा राखे । सहकारीबाट सञ्चालन भएका गतिविधिहरुले शेयर सदस्य लाभान्वित भए या भएनन् ? उनीहरुको जिवनस्तर सुधार भयो कि भएन भन्ने विषयमा समेत अनुगमन आवश्यक रहेको तुलाचनले बताए ।
सोहि अवसरमा राष्ट्रिय सहकारी बोर्डका सदस्य टीका न्यौपाने, बोर्डका पूर्व सञ्चालक प्रकाश अर्याल लगायतले बोल्दै सहकारीमा देखिने समस्याहरु समयमै पहिचान गरि समाधानको पाटो तर्फ लाग्न सके शेयर सदस्यहरुको बचत रकम शुरक्षित हुने धारणा व्यक्त गरे ।
प्रशिक्षकद्धय मनोज खनाल र राम प्रसाद न्यौपानेको सहजीकरणमा भएको तालिममा सहकारीका सिद्धान्त, मूल्य मान्यता, अवधारणा सहित सहकारीमा लेखाको महत्व, कोषहरुको बाँडफाड, चार खाता सञ्चालन लगाएत विषयमा व्यवहारिक अभ्यास सहित समूहगत रुपमा प्रशिक्षण दिइएको थियो ।
समापन समारोहमा सहभागीको तर्फबाट विष्णु अर्याल, दिपक पौडेल र पूर्णकली खरेलले तालिम मार्फत सिकाइएका विषयवस्तुबाट आँफुहरु सहकारीको विषयमा थप प्रष्ट भएको भन्दै सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरे ।
देवदह क्षेत्रका विभिन्न सहकारीहरुबाट ६० जना प्रशिक्षार्थी सहभागी भएको तालिम समापन कार्यक्रम सहकारी सञ्जाल देवदहका अध्यक्ष जागेश्वर पंगेनीको अध्यक्षता र सुर्यकान्त रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology