देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरु राष्ट्रिय सेवादलको तालिममा सहभागी हुने भएका छन् । कक्षा ८ र ९ मा अध्ययनरत ३० जना विद्यार्थीलाई तालिममा सहभागी गराउन अभिभावक सहित बुधवार राष्ट्रिय सेवादलसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
१५ छात्रा र १५ छात्र गरी ३० जना विद्यार्थी तालिममा सहभागी हुने विद्यालयले जनाएको छ ।
अभिमुखीकरण कार्यक्रममा तारादल गण रामनगर बुटवलकी सेनानी दीपा खड्काले राष्ट्रिय सेवादल (एनसीसी) को उद्देश्य, कार्यपद्धति र युवापुस्ताको भूमिकासम्बन्धी प्रशिक्षण दिइन्। सेनानी खड्काले राष्ट्रसेवामा अग्रसर हुन विद्यार्थीसँगै अभिभावकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहने धारणा राखिन् ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद गैरेले विद्यार्थीहरूमा अनुशासन, नेतृत्वदायी क्षमता र राष्ट्रसेवाको भावना अभिवृद्धि गर्न कार्यक्रम फलदायी हुने विचार व्यक्त गरे ।
कार्यक्रममा जमदार सुदीप तामाङ, तोपजङ वली र सिपाही झलक राना लगायतले राष्ट्रिय सेवादलको संरचना, अनुशासन र राष्ट्रसेवामा विद्यार्थीको भूमिकाबारे चर्चा गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षता र अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक वेद सूर्यवंशीले स्वागत मन्तव्य राखेका थिए ।
सेनाले दुई चरणमा तालिमहरु सञ्चालन गर्छ । हरेक वर्षको साउनदेखि माघसम्म १ सय दिन चल्ने तालिमको पहिलो चरण अर्थात संस्थागत तालिम सम्बन्धित विद्यालयमा दिइन्छ । विद्यालयको पढाईमा कुनै असर नपर्ने गरी दिईने उक्त तालिमको लागि विद्यार्थीले शारीरिक र स्वास्थ्य परिक्षा पास गर्नुपर्छ भने तालिममा सहभागिताका लागि विद्यार्थी स्वयं र अभिभावकको समेत अनुमति आवश्यक हुन्छ।
७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्यज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइन्छ। सिनियर डिभिजनले हतियार तालिम अर्थात फायरिङ पनि सिक्छन् ।
७९ दिनको तालिमपछि २१ दिने क्याम्प तालिम हुन्छ । क्याम्पको लागि मोरङको याङ्सिला, नवलपरासीको हात्तिखोर र बाँकेको कोहलपुरमा लगिन्छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम लिन सकिन्छ । सिनियर डिभिजन तालिममा घेाडचढी, स्विमिङ, हाइकिङ र रक क्लाइम्बिङसम्म सिकाइन्छ ।
यसरी तालिम लिएका युवाहरुले दैविक प्रकोपको उद्धारदेखि लागुऔषध र चेलिवेटी बेचविखनविरुद्धका अभियानमा योगदान दिनसक्ने र सुरक्षासंग सबन्धित कार्यमा महत्वपुर्ण कार्य गर्न सक्ने हुनाले यस प्रकारको तालिम महत्वपुर्ण मानिन्छ ।
नेपालका पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले समेत २०२८ सालमा यो तालिम लिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology