देवदह । मुक्ति समाज नेपाल रुपन्देहीले देवदह नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । स्थानीय तहमा दलित मैत्री नीति कार्यक्रम र बजेट बनाउनु पर्ने लागायत २३ बूँदे माग राखी नगर प्रमुख ध्रुबप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ समक्ष ज्ञापनपत्र बुझाइएको हो ।
रुपन्देहीको १६ वटै पालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत बुधबार देवदह नगरपालिकामा ज्ञापनपत्र बुझाइएको मुक्ति समाज नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष वीकाश गहतराजले जानकारी दिए ।
ज्ञापनपत्रमा संवैधानिक व्यवस्थामा उल्लेख गरिएका दलित समुदायको अधिकार तथा समानुपातिक समावेसी पुर्णरूपमा कार्यान्वयन हुन नसकेको र दलित समुदायको उत्थानका खातिर स्थानीय तहले जातिय विभेद तथा छुवाछुत मुक्त पालिका निर्माण गरि सहभोज र सामाजिक अन्तरघुलनका कार्यक्रमहरु ल्याउनुपर्ने उल्लेख छ । त्यसैगरी व्यवसाय दर्तामा छुट तथा सहज वातावरण निर्माण, भुमिहिन, सुकुम्बासी दलित समदायको तथ्याक संकलन गरि लालपुर्जा वितरण, जातीय विभेद र छुवाछूत प्रथाविरोधी स्थानीय पाठ्यक्रमको निमार्ण, विपन्न दलित समुदाय सहयोगार्थ आकस्मिक कोष स्थापना लगायतका माग राखिएको छ ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले मुक्ति समाजको मागप्रति देवदह नगरपालिका सकारात्मक रहेको बताए । नगर प्रमुख खरेलले देशमा परिवर्तनका खातिर भएका बिभिन्न आन्दोलनमा दलित समुदायको महत्वपूर्ण भूमिका रहेको भन्दै संबिधानमा व्यवस्था भए बमोजिम दलित समुदायको हक-अधिकार र सुनिश्चितका लागि आफु प्रतिबद्द रहेको बताए ।
यस्ता छन २३ बूँदे माग
१. जातिय विभेद र छुवाछुत अन्त्यका निम्ती समाजिक सतेतनामूलक र समाजिक अन्तरघुलनका कार्यक्रमहरु संचालनका लागि माग गर्दछौ ।
२. यस पालिकामा दलित रणनीति र दलित पाश्र्व चित्र निमार्णका निम्ति माग गर्दछौ ।
३. दलित समुदायको पेशालाई आधुनिकीकरण र उनिहरुको व्यवसाय सञ्चालनका निम्ति व्याजमा आर्थिक व्यवस्थापन एवं व्यवसाय दर्तामा कर छुटको माग गर्दछौ ।
४. नगरबाट विनियोजित छात्रवृतिमा दलित छात्राछात्रलाई विशेष प्रथामिकता निम्ति माग गर्दछौ ।
५. पालिकाले प्रदान गर्ने विभिन्न अवसरमा दलित समुदायको सहभागिताको सुनिश्चिताका निम्ति माग गर्दछौ ।
६. भुमिहिन, सुकुम्बासि दलित समदायको तथ्याक संकलन गरि लाल पुर्जा वितरणका निम्ति माग गर्दछौ ।
७. सबै प्रकारको विभेदको अन्त्यका निम्ति विभेद गनेलाई तत्काल कानुनी कारवाहीका निम्ति नीति, कार्यविधि निमार्ण निम्ति माग गर्दछौ ।
८. पालिका र वडामा निमार्ण÷गठन हुने विभिन्न समितिहरु (टोल विकास, विद्यालय, आमा समुह, उपभोक्ता समिति) मा दलित समुदायको सुनिश्चितता माग गर्दछौ ।
९. दलित जनप्रतिनिधिहरुको क्षमता विकास र दलित वडा सदस्यहरुलाई का.व. अध्यक्षका निम्ति अवसरका निम्ति माग गर्दछौ ।
१०. पालिकाले दलित सुदायको पहिचान झल्किने गरि पालिका स्तरिय कार्यक्रमका निम्ति माग गर्दछौ ।
११. जनप्रतिनिधि, कर्मचारी र विद्यालयमा जातिय विभेद विरुद्ध विशेष कार्यक्रम आयोजनाका निम्ति माग गर्दछौ ।
१२. स्थानीय तह अन्तरगत गरिने शिक्षक कर्मचारी भर्नामा समावेशीताको आधारमा गरियोस ।
१३. अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन र सम्मानको व्यवस्था होस ।
१४. सहभोज र सामाजिक अन्तरघुलनका कार्यक्रमहरु लागू गरियोस ।
१५. जातीय विभेद र छुवाछूत प्रथाविरोधी स्थानीय पाठ्यक्रमको निमार्ण गरी लागू गरियोस ।
१६. विपन्न दलित समुदाय सहयोगार्थ आकस्मिक कोष स्थापना गरियोस् ।
१७. दलित समुदायको वास्तविक वस्तुस्थिति निमार्ण गरी सोही अनुसार बजेटको व्यवस्था गरियोस ।
१८. दलित समुदायको जीविकोपार्जन सुधार गर्ने विभिन्न आयआर्जनका कार्यक्रम तय गरी कार्यान्वयन गरियोस ।
१९. विद्यालय छोडने जोखिममा रहेका दलित तथा विपन्न बालबालिकालाई अध्ययन सुनिश्चित गर्ने कार्यक्रम तर्जुमा गरियोस् ।
२०. संवैधानिक र कानुनी प्रावधानहरुको कार्यान्वयन गर्ने सहयोगी कार्यक्रमहरु लागू गरियोस ।
२१. वालघरे प्रथा अन्त्यको लागि दलित समुदायले उत्पादन गर्ने वस्तु र सेवाको ज्याला निर्धारण गरियोस् ।
२२. जातिय विभेद तथा छुवाछुत मुक्त पालिका निर्माण गरियोस् ।
२३. विपन्न दलित परिवारलाई स्वास्थ्य विमामा निशुल्क गरियोस् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology