काठमाडौं । भवन निर्माणमा अनियमितताको आरोपमा सत्तारुढ दल नेकपा एमाले मधेस प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सांसद ठाकुरसहित १७ जनालाई प्रतिवादी बनाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक सम्पतीको हिनामिना, हानी नोक्शानी गरी भ्रष्टाचार गरेको आरोपसहित मधेस प्रदेशका प्रदेश सभा सदस्य ठाकुर, औरही गाउँपालिका धनुषाका तत्कालीन अध्यक्ष व्रह्मदेव यादव, तत्कालीन उपाध्यक्ष मीरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर लगायत १७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए ।
आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत औरही गाउँपालिकाको देउरीपरवाहमा १५ शैय्याको अस्पताल निर्माणमा अनियमितता भएको आरोप आरोपपत्रमा रहेको छ ।
प्रतिवादीहरुलाई ६ करोड ७९ लाख १२ हजार ३ सय ८३ रुपैयाँ ९८ पैसा बिगो कायम गरिएको सूचना अधिकारी रेग्मीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology