काठमाडौँ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदैछ ।
नेपालले यस सिरिजमा यसअघि खेलेका तीन मध्ये २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसविरुद्ध ५ विकेटको जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा स्कटल्याण्डविरुद्ध २ रनको झिनो अन्तरको हार बेहोरेको थियो ।
नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने नेदरल्याण्डसले पनि ३ खेलनै जितेको छ ।
हाल लिग-२ को अंक तालिकामा नेपाल १५ खेलमा १० अंकसहित सातौं स्थानमा रहेको छ । नेपालले १५ खेलमा ४ खेल जितेको छ भने ९ खेलमा हार बेहोरेको छ र २ खेलको नतिजा आएको छैन । त्यस्तै नेदरल्याण्डसको २२ खेलमा २६ अंक रहेको छ र हाल दोस्रो स्थानमा रहेको छ ।
यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।त्यस्तै त्रिकोणात्मक टी- २० सिरिज खेल्ने टिममा किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम सहभागी हुने छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology