देवदह । रुपन्देहीको देवदह नगरपालिका–९ मा महिला लक्षित उद्घोषण तथा माइन्यूट लेखन तालिम सुरु गरिएको छ । देवदह सामुदायिक विकास तथा सिकाई केन्द्रले सहजीकरण गरेको तालिम देवदह नगरपालिका वडा नं ९ को आयोजनामा संचालन भएको हो ।
६ दिनसम्म चल्ने तालिममा सो वडाका ४० जना महिलाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष मोहन जिसीले तालिमले आत्मविश्वासको अभाव हटाएर अगाडि बढ्न प्रेरणा दिने बताए । उनले जीवन भनेको नयाँ–नयाँ कुरा सिक्ने यात्रा भएको उल्लेख गर्दै सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
अध्यक्ष जिसीले नगर र वडाले क्षमता विकासका साथै व्यवसाय प्रवर्द्धनतर्फ पनि तालिमहरू सञ्चालन गर्दै आएको जानकारी गराउँदै सिकिएको सीप व्यवहारमा उतार्न आग्रह गरे ।
तालिममा माइन्यूट लेखन र उद्घोषण विधाका प्रशिक्षक तथा पूर्व संविधानसभा सदस्य दुलारी हरजन, जनप्रिय सामुदायिक वनका अध्यक्ष रुका सापकोटा, वडा सदस्य कृष्णमाया रानालगायतले सहभागीहरूलाई प्रशिक्षणका उद्देश्य र उपयोगिताका बारेमा धारणा राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology