देवदह । गोविन्द क्षेत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै अखिल नेपाल सुकुम्वासी संघ देवदह नगरको चौथो अधिवेशन शुक्रवार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट संघको दोश्रो कार्यकालका लागि नगर अध्यक्षमा क्षेत्री चयन भएका हुन् ।
१५ सदस्यीय समिति अन्तर्गत नगर उपाध्यक्षमा शिव रिजाल, सचिवमा भिमसेन विक, सह सचिवमा राजकुमार थापा ठडराई र कोषाध्यक्षमा संगीता थापा चयन भएका छन् । यसैगरी सदस्यहरुमा रञ्जु ढकाल, प्रकाश न्यौपाने, निर्मला विक, शोभादेवी राजभर लगाएत रहेको जनाईएको छ ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जिसीले भुमिहिन, दलित, आदिवासी जनजातिहरुका मुद्धाप्रति माओवादी जिम्मेवार रहेको बताए । विगतको संविधान गरिव र निमुखाहरुको विरुद्धमा रहेको तथा राजा महाराजाहरुको पक्षपोषण गर्ने किसिमको भएकाले माओवादीको नेतृत्वमा संविधानसभा मार्फत नयाँ संविधान निर्माण भएको उनले बताए ।
‘हिजोका राजा महाराजाहरुले संविधानको अधिकार प्रयोग गरेर मोजमस्ती गरे । तर आजको संविधानले सामान्य किसानको छोराछोरीलाई समेत राष्ट्रप्रमुख हुने हैसियत प्रदान गरेको छ ।’ उनले भने, ‘त्यसैले यो व्यवस्था जनताको पक्षमा छ । गरिव दुःखी र निमुखाहरुको पनि पक्षमा छ ।’
अध्यक्ष जिसीले माओवादीले भुमिहीन र सुकुम्वासीको पक्षमा द्धन्द्धकालदेखि नै आवाज उठाएको बताउँदै लालपुर्जा वितरणको तयारी माओवादी सरकारकै पालामा सुरुवात भएको उल्लेख गरे । यसअघि राजश्व बढि भएका कारण रोकिएको पुर्जा अव कुनै बहानामा रोक्न नहुने र जग्गा विहिनलाई यथासक्य छिटो जग्गाको मालिक बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा पार्टीका प्रदेश समिति सदस्य मोतिलाल ढकाल, संघका केन्द्रिय उपाध्यक्ष यमलाल तिवारी, पार्टी रुपन्देही क्षेत्र नं १ ‘क’ का संयोजक केदारनाथ काफ्ले, नगर अध्यक्ष दीपक न्यौपाने लगाएतले बोल्दै सुकुम्बासी समस्या तत्काल समाधान गर्नुपर्ने धारणा राखेका थिए ।
चोडा प्रसाद चापागाईको स्वागत र होमबहादुर विको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology