देवदह । देवदह नगरपालिका र लुम्विनी बौद्ध विश्वविद्यालय बीच देवदहको परियोजना विषयमा छलफल सम्पन्न भएको छ । लुम्विनी बौद्ध विश्वविद्यालयले देवदहको सञ्चालन गर्ने गुरुयोजनाको वारेमा नगरपालिकासँग छलफल गरेको विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले जानकारी दिए ।
प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माको रोहवरमा भएको छलफल कार्यक्रमले देवदहलाई शैक्षिक हवको रुपमा विकास गर्ने, देवदहको विकासमा नगरपालिका र लुम्विनी बौद्ध विश्वविद्यालय बिच सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ ।
सैगरी देवदहको विकासमा लुम्विनी विश्वविद्यालयले गर्ने सहयोग र विश्वविद्यालयको परियोजना कार्यान्वयन गर्न नगरपालिकाले नीतिगत रुपमा सहयोग गरेर अगाडि बढ्ने छलफलको निष्कर्ष रहेको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
छलफलमा परियोजनाको विषयमा जानकारी दिँदै रजिष्टार तिलक आचार्यले देवदहमा शिक्षा र आर्थिक विषयमा काम हुने जानकारी दिए । उनले सरकारले विश्वविद्यालयलाई प्रदान गरेको एक सय विगाहा क्षेत्रमा आर्थिक विकासको लागि होटल, स्टेडियम, रेष्टुरेष्ट, पार्क, स्वीमिङमुल लगायत पूर्वाधार निर्माण हुने जानकारी दिए ।
आर्चायले शिक्षा र आर्थिक विकासको परियोजना सम्पन्न हुँदा करिव ६६ अर्व खर्च हुने जानकारी दिए । विश्वविद्यालयले १५ हजार विदेशी विद्यार्थी र ६ हजार नेपाली विद्यार्थीलाई अध्यापन गराउने लक्ष्यका साथ अगाडि बढेको आचार्यले बताए ।
यसैगरी बौद्ध विश्व विद्यालयले तत्काल विपश्यना केन्द्र निर्माणको प्रक्रिया अगाडि बढाउने बताउँदै विज्ञ टोलीले सोहि बमोजिम काम गरिरहेको उनले जानकारी दिए ।
सोही अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले विश्वविद्यालय र नगरपालिका वीच सहकार्य गरेर देवदहको विकासमा लाग्नु पर्नेमा जोड दिए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नको लागि नगरपालिकाको डकुमेन्ट्रि निर्माण गर्न आवश्यक रहेको हुँदा त्यसलाई नीति तथा कार्यक्रममा समावेश गरेर जान आग्रह गरे ।
उनले देवदहको पहिचान झल्किने किसिमको मायाको चिनो स्थानीय स्तरमा उत्पादन गर्न आवश्यक रहेको बताउदै त्यसको लागि नगरपालिकाले पहल गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा नगर प्रमुख ध्रुवप्रसाद खरेलले छलफलको क्रममा भएको निष्कर्षलाई नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेर जाने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, शिक्षा अधिकारी लोकराज पन्थी, नगर प्रवक्ता गणेश डुम्रे, देवदह-८ का अध्यक्ष हरि पाण्डे, शिक्षा समितिका सदस्य मित्रलाल न्यौपाने, विश्वविद्यालय देवदहका डिन कुमार खड्का लगायतले धारणा राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology