बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले छुवाछूत अन्त्यका लागि व्यवहारिक सोच परिवर्तन र सामाजिक रुपान्तरण आवश्यक रहेको बताएका छन् ।
१९औँ छुवाछूत उन्मूलन दिवसको अवसरमा बुधवार माओवादी केन्द्र रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै बरालले छुवाछूत दासयुगको अवशेष भएको र त्यसको अन्त्यका लागि माओवादी जनयुद्धले कानुनी धरातल तयार गरेको स्मरण गरे ।
'भौतिकवादी दर्शनको विकासले सामाजिक भेदभावविरुद्धको चेतना विस्तार गर्न भूमिका खेलेको छ ।' अध्यक्ष बरालले भने, 'दलित समूदायको सशक्तीकरण र रुपान्तरणबिना छुवाछूतको समूल अन्त्य हुन मुस्किल हुन्छ ।'
उनले माओवादी आन्दोलनले लडाइँ गरेर ल्याएको व्यवस्थाले दलित समुदायलाई राज्यको नीति निर्माण तहमा पुर्याएको उनले बताए ।
उनले छुवाछूतविरुद्धको संघर्ष सामूहिक हुनुपर्ने भन्दै त्यसैले कानुनमा यसलाई फौजदारी अपराधका रूपमा समेटिएको उल्लेख गरे । धर्मनिरपेक्षता र समावेशितालाई माओवादीले आन्दोलनकै मूल मर्म बनाएको र त्यसपछि मात्रै राज्यले अंगिकार गर्न थालेको उनको भनाई छ ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज सोनिया यादवले राज्यका सबै निकायमा दलित सहभागिता सुनिश्चित गर्नुपर्ने बताइन् । सोच नबदलिएसम्म छुवाछूत अन्त्य नहुने भन्दै उनले व्यवहारमा परिवर्तन ल्याउने आवश्यकतामा जोड दिइन् ।
माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य रामु परियारले कानुनले छुवाछूत अपराध माने पनि व्यवहारमा अझै गम्भीर रूपमा कायम रहेको बताए । मुलुक छुवाछूतमुक्त घोषणा भए पनि पछिल्लो दशकमा छुवाछूतकै कारण २५ जना दलितको ज्यान गएको उनले स्मरण गराए ।
दलित मुक्ति मोर्चा रुपन्देहीका इन्चार्ज पदम विश्वकर्माले छुवाछूतलाई कानुनले अपराध स्वीकार गरे पनि व्यवहारमा कार्यान्वयन नहुनु दुःखद भएको बताए ।
२०६३ जेठ २१ मा सरकारले मुलुकलाई ‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरेको स्मरणमा प्रत्येक वर्ष यही दिन 'जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ मनाउने गरिएको छ ।
कार्यक्रममा पार्टी जिल्ला संयोजक नारायण जिसी निर्मल, प्रदेश समिति सदस्य सुजित बिक लगायतले बोलेका थिए ।





















.gif)