बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीले छैटौं स्थापना दिवस शूभकामना आदान प्रदान तथा दीप प्रज्वलन गरी मनाएको छ । २०७६ साल जेठ १८ गते स्थापना भएको संघले देशैभर विभिन्न कार्यक्रम गरी मनाइरहेको बेला रुपन्देही शाखाले बुटवल देविनगर चौपारीमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले सामाजिक रुपान्तरणका लागि दलित पत्रकार संघले नेतृत्वदायी भूमिका खेलेको बताए । उनले नेपाली समाजको रुपान्तरणका लागि पछाडि पारिएका समुदायको आवाजलाई पत्रकारिता मार्फत दलित समुदायका पत्रकारहरुले योगदान रहेको बताए ।
यस्तै कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियारले दलित समुदायको मुद्धालाई मूलप्रवाहमा ल्याउन र नेपाली सञ्चारमाध्यमलाई समावेशि बनाउन संघको स्थापना भएको बताए । उनले पत्रकारिता आवाज विहिनको आवाज भएको भएपनि मुद्धाको संवेदनशिलताका लागि दलित समुदायकै पत्रकारहरुको आवश्यकता हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष मिना ढकालले दलित समुदायका पत्रकारहरुको पेशागत हितका लागि संघको भूमिका सकरात्मक रहेको बताईन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेय, राससका पूर्व अधयक्ष तथा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा मानवअधिकारकर्मी गोविन्द खनालले बोल्दै दलित अधिकार मानव अधिकार भएकोले दलित पत्रकार संघले त्यस्ता समुदायको मुद्धालाई सधैं उच्च स्थान दिनुपर्ने बताए ।
संघ रुपन्देही शाखा अध्यक्ष टंक सुनाको अध्यक्षता तथा सचिव कृष्ण रणपालको सञ्चालनमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य यमबहादुर सुनार, संयुक्त दलित संघर्ष समितिका संयोजक हरिओम विश्वकर्मा लगायतले शूभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा रुपन्देहीका विभिन्न पत्रकार सम्बद्ध संगठनका प्रतनिधि, अधिकारकर्मी, मानवअधिकारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology