काठमाडौं । लागुऔषध दुर्व्यसन देशको साझा समस्या बनेको भन्दै नेपाल प्रहरीले यसलाई नियन्त्रण गर्न रचनात्मक साझेदारीको आह्वान गरेको छ। प्रहरीका अनुसार युवा पुस्ताको करिब ८० प्रतिशत हिस्सा यो समस्याबाट प्रत्यक्ष या अप्रत्यक्ष रुपमा आक्रान्त छ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले लागुऔषधको समस्या विकराल बन्दै गएको जानकारी दिए। उनका अनुसार नेपालजस्तो देशमा लागुऔषध मात्र स्वास्थ्य वा सुरक्षाको विषय होइन, यो अब राष्ट्रिय संकटको रूपमा उभिएको छ। उनले भने, “समाज नै आक्रान्त छ, युवाहरुको भविष्य संकटमा परेको छ, सम्भावनाहरु समाप्त हुँदै गएका छन्।”
प्रवक्ता थापाका अनुसार अहिले लागुऔषधको दुव्र्यसनमा फसेका धेरै युवाहरु त्यस्ता थिए, जसले देशको समुन्नति र समाजको नेतृत्व गर्न सक्ने क्षमता राख्थे। तर उनीहरुकै जीवन अहिले दुरावस्थामा पुगेको देखिन्छ।
उनले लागुऔषध विरुद्धको अभियानलाई संस्थागत बनाउन स्थानीय निकायदेखि संघीय सरकारसम्म जिम्मेवार बन्नुपर्ने बताए। "हामी सबैले लागुऔषध दुव्र्यसनविरुद्ध कार्यक्रम सञ्चालन गर्नुपर्छ," थापाको भनाइ छ, "समस्या साझा हो भने समाधान पनि साझा सोचबाट आउनुपर्छ।"
उनका अनुसार लागुऔषधको दुव्र्यसनले देशको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पारेको छ।
विदेशी मुद्रा ठूलो संख्यामा बाहिरिएको, सामाजिक संरचना भत्किँदै गएको र अपराध वृद्धिको मुख्य जड लागुऔषध नै रहेको प्रहरीको बुझाई छ।
हाल प्रहरीमा थप १८ हजार दरबन्दी आवश्यक छ। देशभर प्रहरी इकाइमध्ये ७९१ वटासँग अझै आफ्नै कार्यालय भवन छैन। आवश्यक जनशक्तिको संख्या २७ हजार ७८८ पुगेको जानकारी दिँदै प्रवक्ता थापाले प्रहरी जनशक्ति, भौतिक पूर्वाधार र प्रविधिमा व्यापक सुधारको आवश्यकता औंल्याए।
उनका अनुसार नेपाल प्रहरीले दैनिक ४२६ वटा सवारी गस्ती सञ्चालन गर्छ भने ६०९ स्थानमा चेकिङ र १,१६८ ठाउँमा पिकेट कायम छ। तर ती सबैलाई प्रभावकारी बनाउन थप स्रोतसाधनको आवश्यकता रहेको उनले स्पष्ट पारे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology