Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

सुनवलका विद्यार्थीलाई अतिरिक्त पुस्तकको भार, अभिभावकलाई आर्थिक बोझ

सुनवलका विद्यार्थीलाई अतिरिक्त पुस्तकको भार, अभिभावकलाई आर्थिक बोझ

वर्षेनी नयाँ पब्लिकेशनका पुस्तक लगाइने गरिएको गुनासो
images
  • सुनवलका विद्यार्थीलाई अतिरिक्त पुस्तकको भार, अभिभावकलाई आर्थिक बोझ
    images
    images

    सुनवल । सुनवलका सामुदायिक विद्यालयमा विद्यार्थीलाई अतिरिक्त पाठ्यपुस्तक लगाइएको भन्दै अभिभावकले गुनासो गरेका छन् । नगरपालिकाले तोकेका बाहेक पनि एक्स्ट्रा पुस्तकको नाममा नेपाली, गणित, विज्ञान र अंग्रेजी पुस्तक किन्न वाध्य पारिएको भन्दै अभिभावकले विरोध जनाएका हुन् ।

    images
    images
    images

    सेतोमसीसंग कुरा गर्दै अभिभावकहरुले कलिला बालबालिकालाई १० वटासम्म पुस्तक बोक्न बाध्य पारिएको बताए । नाम सार्वजनिक नगर्न अनुरोध गर्दै भगवती माध्यमिक विद्यालयका एक अभिभावकले बालबालिकाकालाई पुस्तकको बोझसंगै अभिभावकलाई समेत खर्चको बोझ थपिएको बताए । त्यसैगरी जगन्नाथ माध्यमिक विद्यालयमा आफ्ना बच्चा पढाउने एक अभिभावकले एक्स्ट्रा पुस्तक थप्ने र विद्यालयले हरेक वर्ष नयाँ पब्लिकेशनको पुस्तक किन्न लगाउने कार्य संकास्पद रहेको बताइन् । उनले विद्यालयले कमिसनको लोभमा यसो गरिरहेका त छैनन् भन्ने आशंका गरिन् । 

    images
    images
    images

    उल्लेखित अभिभावकका गुनासोबारे नगर शिक्षा प्रमुख विष्णु प्रसाद गोतामेसंग बुझ्दा उनले त्यस्तो नभएको बताए । 'जनक शिक्षा सामग्रीका पुस्तक लगाइएको छ । सामुदायिक विद्यालयमा अन्य कुनै एक्स्ट्रा पुस्तक लागिएको मलाई जानकारी छैन ।' सेतोमसीसंग उनले भने, संस्थागत विद्यालयको विषय म भन्न सक्दिन तर सामुदायिकमा त्यस्तो समस्या छैन ।'

    images
    images
    images

    नगर शिक्षा प्रमुखले अभिभावकको गुनासोलाई अस्विकार गरेपनि विद्यालयहरुले भने एक्स्ट्रा पुस्तक लगाइएको विषय स्वीकार गरेका छन् । भगवती माविका प्रधानाध्यापक बाबुराम पाण्डेले रिफ्रेन्स बुकको रुपमा केही पुस्तक लगाइएको बताए । उनले मुख्य पुस्तकमा रहेकोभन्दा बढी अध्ययन सामग्री हुने हुनालेले विद्यार्थीलाई  थप ज्ञान आर्जन गर्न त्यस्ता पुस्तकले सहयोग गर्ने बताए ।  हरेक वर्ष नयाँ पब्लिकेशनको पुस्तक लगाउने गरेको कुरा भने पाण्डेले स्वीकार गरेनन् । 'हामीले त्यस्तो गरेका छैनौं, कमिसनमा जोडिने भन्ने त प्रश्न नै आउन्न ।'  उनले भने, 'अब्बल विद्यार्थी उत्पादनमा रिफ्रेन्स बुक सहयोगी नै हुन्छन् ।'

    जगन्नाथ माविका प्रधानाध्यापक कर्ण बहादुर राहदीले पनि अतिरिक्त पुस्तक लगाइएको स्वीकार गर्दै विषय शिक्षकले आवश्यकता अनुसार रिफ्रेन्स पुस्तक लगाउने गरेको बताए । उनले अतिरिक्त विज्ञान, गणित, अंग्रेजी व्याकरण र नेपाली व्याकरणका पुस्तक लगाइने गरिएको उल्लेख गरे । अतिरिक्त गणितको लागि अलग्गै पिरियड नै छुट्याइएको जानकारी दिंदै उनले अरु विषय मुख्य विषयको सहयोगी सामग्रीको रुपमा प्रयोग गरिदै आएको दावी गरे ।

    यसैगरी विद्यालय व्यवस्थापन समिति महासंघ सुनवलका अध्यक्ष ज्ञानहरी अर्यालले अतिरिक्त पुस्तक लगाइएको बारे आफुले अभिभावकको गुनासो रहेको बताए । विद्यालय व्यवस्थापन समितिको जानकारी विना अतिरिक्त पुस्तक लगाइएको र कतिपय अवस्थामा हरेक वर्षजसो फरक पब्लिकेशनका पाठ्यपुस्तकको प्रयोग गर्ने गरेको पाइएकोले त्यसलाई रोक्नुपर्ने उनको भनाइ छ । उनले नगर शिक्षा शाखाले आवश्यक अनुगमन नगर्दा पनि समस्या थपिएको बताए । 

    यसै सन्दर्भमा नगर प्रमुख विमला अर्याललाई राखिएको जिज्ञासामा उनले शिक्षा शाखासंग बुझेर मात्र जवाफ दिन सक्ने बताइन् । 

    फरक प्रसंगमा १० लाखको नगर प्रमुख छात्रवृत्ति कोष पनि वितरण हुन नसकेको प्रश्नमा नगर प्रमुख अर्यालले केही दिनमा छात्रवृत्ति वितरण हुने जानकारी दिइन्  । 'राजश्वको केही कुराले रोकिएको हो ।' उनले भनिन्, 'केही दिनमा वितरण हुन्छ । हामी प्रतिवद्ध छौं ।'

    सुनवल नगरपालिका देशकै पहिलो बालमैत्री नगरपालिका हो । यहाँको विद्यार्थी भर्ना दर ९७ देखि ९८ प्रतिशतसम्म रहेको नगरपालिकाको तथ्यांक छ । विभिन्न ६ वटा पालिकाबाट सुनवलका विद्यालयमा विद्यार्थी पढ्न आउँछन् । नेपालका अन्यस्थानबाट यहाँका फ्याक्ट्रीहरुमा काम गर्न आउने  अभिभावकका बालबालिका समेत सुनवलका विभिन्न विद्यालयमा अध्ययनरत छन् । 

    नगर शिक्षा शाखाको गत वर्षको तथ्यांक अनुसार यहाँका ३५ वटा सामुदायिक विद्यालय र पुर्वप्राथमिकसहित १८ वटा संस्थागत विद्यालयमा २१ हजार विद्यार्थी अध्ययनरत छन् । तर यो वर्षको यकिन तथ्यांक नआइसकेको शिक्षा शाखाले जनाएको छ । 

    सुनवलका सामुदायिक विद्यालयहरू शैक्षिक गुणस्तरमा तुलनात्मक रुपमा अब्बल छन् । गत शैक्षिक सत्रको कक्षा ८ को परिक्षामा ४ जीपीए ल्याउने ९ जना विद्यार्थीमध्ये ७ जना सामुदायिक विद्यालयका विद्यार्थी हुनुले पनि यसलाई पुष्टि गर्छ । तर 'बन्न वर्षौं लाग्छ, विग्रिन क्षणभरमा सक्छ' भनेझैँ नगर शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकहरुले बाटो विराए भने सामुदायिक शिक्षा ओरालो लाग्न समय लाग्ने छैन । यसमा सबै सरोकारवाला सजग हुन जरुरी छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।