काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले निजामति विधेयकलाई समितिको आगामी बैठकबाट संसदमा पेश गर्नेगरी तयारी गर्न सरकारसँग आग्रह गरेको छ । आईतवार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयकलाई आगामी समितिको बैठकबाट संसदमा पेश गर्नेगरी तयारी गर्न सरकारलाई निर्देशन दिएका हुन् ।
उनले समिति सदस्यहरु र जनताको धारणा बुझेर सरकारलाई आगामी समितिको बैठकमा उपस्थित हुँदा निजामति विधेयक जसरी पनि संसदमा पेश गर्नेगरी तयारीका साथ उपस्थित हुन आग्रह गरे । सरकारले स्पष्ट नबनाए समितिले आफ्नो प्रक्रियाअनुसार काम अघि बढाउने खतिवडाको भनाई थियो । कानून निर्माण गर्दै जाँदा पुरानालाई समय थप्दै जाने र नयाँलाई बाटो बन्द गर्ने प्रवृत्तिको विकास भए जनमानसमा नराम्रो प्रभाव पर्ने सो अवसरमा उनले बताए ।
उनले भने ‘म सरकारलाई अनुरोध गर्न चाहन्छु, मान्य सदस्यहरुको धारणा बुझेर, जनताको धारणा बुझेर अब सरकारलाई आगामी बैठकमा उपस्थित हुँदा यि सम्पूर्ण कुरा क्लियर गर्नेगरी अर्को बैठकबाट निजामति विधेयक जसरी पनि संसदमा पेश गर्नेगरी हामी तयारी हुनुपर्छ । नभए हामी प्रक्रियामा जानुपर्ने आवश्यकता छ । यो समितिलाई राजनीतिक गन्ध नआउने समितिको रुपमा विकास गरौँ भन्ने हो ।’
सभापति खतिवडाले अख्तियारको विधेयकमा पनि सरकारले आफ्नो स्पष्ट धारणा बनाउनुपर्ने र छिटो विधेयक टुंग्याउनुपर्नेमा जोड दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology