काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक सामाजिक सञ्जाललाई नियन्त्रणमा लिनुपर्ने आवश्यकता औंल्याएका छन् । नेपाल प्रेस युनियनद्वारा आयोजित ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’को उद्घाटन सत्रमा मन्त्री गुरुङले अनलाइन माध्यमबाट अफवाह फैलाउन धार्मिक, राजनीतिक र राज्यशक्तिमाथि अराजक प्रयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले प्रेस स्वतन्त्रता बलियो भएमात्रै प्रजातन्त्र बलियो हुने भन्दै सामाजिक सञ्जालको दुरुपयोगले प्रेसलाई बद्नाम गरिरहेको बताए ।
मन्त्री गुरुङले जलवायु परिवर्तनको असरबारे पनि सचेत गराए । उनले विकासको नाममा प्राकृतिक तौरतरिकालाई बेवास्ता गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै सञ्चार क्षेत्रले विकासका सनकपूर्ण निर्णयको दीर्घकालीन असरबारे बहस चलाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रेसको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै युवाहरूमा गणतन्त्रको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए । गणतन्त्र संस्थागत गर्न प्रेस जगतले भूमिका खेल्नुपर्ने भन्दै उनले अनलाइन माध्यमबाट फैलाइने अफवाहले समाजमा नकारात्मक असर पुर्याइरहेको बताए ।
मन्त्री गुरुङले लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे प्राप्त सुझावले सरकारलाई सोच्न बाध्य बनाउने विश्वास व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology