काठमाडौं । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले आन्तरिक ऋण नलिइकन ५ प्रतिशत भन्दा बढिको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव नरहेको बताएका छन् । आइबिएन मिडियाले आईतवार काठमाडौंमा आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा बोल्दै उनले ऋणको आकार बढेपनि त्यस्तो ऋण नलिइ ६–७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने बताएका हुन् ।
आफू अर्थमन्त्री हुँदा आन्तरिक ऋणका लागि क्षेत्र तोकेको बताउँदै उनले अब क्षेत्र मात्रै तोकेर नहुने भन्दै परियोजना तोकेर आन्तरीक ऋण लिनुपर्ने बताए । खतिवडाले वैकल्पिक वित्त सम्बन्धि सरकारले कोष स्थापना गर्न जारी गर्न लागेको विधेयक, वैदेशिक सहायता नीतिमा समेत यस्ता कुरा रहेको उल्लेख गरे ।
खतिवडाका अनुसार हालै सरकारले ल्याएको नीति तथा कार्यक्रमले सूचना प्रविधिलाई जोड दिएको छ । उनकाअनुसार सरकारले सबै उद्यममा ‘बिजनेस प्लान’ र त्यसको ‘इकोसिस्टम’ निश्चित गरी ‘जेन्जी’ पुस्ता लक्षित ‘युवा पुस्ता स्टार्टअप’ कार्यक्रम शुरु गर्ने भनेको छ । यसले उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गर्ने खतिवडाले बताए ।
मितव्ययिताका कुरा आउँदा वैदेशिक भ्रमणको कुरा आउने बताउँदै खतिवडाले त्यहाँ भन्दा ठूलो खर्च सफ्टवेयरमा भइरहेको दावी गरे । उनका अनुसार सार्वजनिक खरिदमा अहिले पनि समस्या हट्न सकेको छैन, त्यसलाई सम्बोधन गर्न सार्वजनिक खरिद ऐनलाई संशोधन गर्न आउँदो अधिवेशमा पेश गर्नुपर्नेछ ।
सरकारी आयोगहरुले दिने प्रतिवेदनहरु कार्यान्वयन हुन नसकेको भन्दै प्रश्न उठिरहेका बेला खतिवडाले हुवहु त्यस्ता प्रतिवेदन लागू हुन नसक्ने बताए । त्यस्ता प्रतिवेदनहरु पूर्ण नहुने भन्दै उनले अध्ययन गर्न सुझाउने हुँदा कार्यान्वयनमा ढिलाइ हुने गरेको समेत बताए । खतिवडाका अनुसार आर्थिक सुधार आयोग, खर्च पुनरावलोकन आयोगहरुको प्रतिवेदन चरणवद्ध रुपमा कार्यान्वयनमा लैजाने सरकारी तयारी छ ।
आगामी बजेट ठूलो आकारको बन्न लागेको भन्दै सरकारको आलोचना भइरहेका बेला खतिवडाले बजेटको आकारको कुनै अंक नहुने बताए । खतिवडाका अनुसार स्रोतले भ्याउने बजेट राख्नुपर्छ । आढाइ तीन खर्बले बजेट घटाउने प्रवृत्ति देखिँदै आएको छ, जुन विनियोजन ऐनको मर्मविपरित हुन जाने खतिवडाले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology