काठमाडौँ । हरेक वर्ष मे ३ तारिखमा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसको औपचारिक मान्यता सन् १९९३ मा संयुक्त राष्ट्रसंघले दिएको हो । यस दिनको सार्थकता प्रेस स्वतन्त्रताप्रति सम्मान, पत्रकारहरूमाथिको दमनको विरोधमा जनचेतना अभिवृद्धि र स्वतन्त्र पत्रकारिताको पक्षमा ऐक्यबद्धता जनाउनुमा निहित छ । विशेषगरी ती पत्रकार र मिडियाकर्मीहरूलाई स्मरण गरिन्छ, जसले सत्य बोल्दाबोल्दै आफ्नो ज्यानको बाजी राखे ।
सन् २०२५ को यो दिवसको नारा युनेस्कोले "साहसी नयाँ संसारमा रिपोर्टिङ - प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव" (Reporting in the Brave New World – The Impact of Artificial Intelligence on Press Freedom and the Media) तय गरेको छ । यसले वर्तमान पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रवेश र त्यसले ल्याएको अवसरसँगै जोखिमलाई केन्द्रीत गरेको छ । प्रविधिको सशक्त उपयोग पत्रकारिता अभ्यासमा सहजता ल्याएको भए पनि यसको नियमनबिनाको प्रयोगले सूचनाको स्वतन्त्रता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ ।
नेपालको सन्दर्भमा यो विषयवस्तु थप सान्दर्भिक देखिन्छ । रिपोर्टर्स विथआउट बोर्डर्स (RSF) को २०२४ को प्रेस स्वतन्त्रता सूचकांकमा नेपाल ७४औं स्थानमा पुगेको छ, जुन सन् २०२३ को तुलनामा २१ स्थानले सुधार हो । दक्षिण एशियामा नेपाल शीर्ष स्थानमा रहन सफल भएको भए पनि प्रेस स्वतन्त्रताको भित्री अवस्था भने अझै पनि सन्तोषजनक छैन । कानुनीरूपमा अधिकार सुनिश्चित भए पनि व्यवहारमा प्रेस निरन्तर खुम्चिइरहेको छ।
नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार, सन् २०२४ मा प्रेस स्वतन्त्रता उल्लंघनका ६० घटना दर्ता भएका छन् । ती घटनामा ३४ महिला र ११३ पुरुष पत्रकार प्रभावित भएका छन् । हालैका राजनीतिक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या र पत्रकार सबिना कार्की समाचार संकलन कै क्रममा घाइते भएको घटनाले पुन: एकपटक पत्रकारहरूको भौतिक सुरक्षामै चिन्ता थपेको छा ।
आज सरकारका मन्त्रीहरूले ‘फेक न्युज’ को नियन्त्रण नाममा संचारजगतमाथि नै हस्तक्षेप गर्ने प्रयत्न गरिरहेका छन सोही अनुसारका विधेयकको त्रास देखाउने काम पनि जारी छ । जसले प्रेस प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षामा चुनौती थपिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology