देवदह । बुटवल-नारायणघाट सडकखण्डमा रातको समयमा सवारी साधन पूर्णरूपमा बन्द हुने भएको छ । सडक स्तरोन्नतिको काम भइरहेकोले वैशाख ३१ गतेसम्म रातिको समयमा सवारी सञ्चालन रोकिने सडक विभागको आयोजना निर्देशनालयले जनाएको छ ।
राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन आवागमन बन्द गरिने सडक विभागको सूचनामा उल्लेख छ । तिब्र गतिमा निर्माण कार्य सम्पन्न गर्न सडक बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।
सडक बन्द हुने अवधिमा पूर्वतर्फ जाने सवारीहरूलाई हल्दीबारी सिमल चोकदेखि गेटा–मुकुन्दीयासम्म रोकिनेछ भने पश्चिमतर्फ जाने सवारीलाई चिसापानी–दैखौं खण्ड र ज्यामिरे–कुहुँ खण्डमा रोक्ने व्यवस्था गरिएको छ ।
ट्रक, टिपर, ट्यांकरलगायतका भारी सवारी साधनहरू च्यारसामा, अरुघाटतिर र मालघाट क्षेत्रमा रोक्ने भनिएको छ । यस्तै यात्रुवाहक साना सवारीहरू भने सडक किनारमा तोकिएको स्थानमै रोकिनेछन् ।
निर्देशनालयले सडक प्रयोगकर्तालाई वैकल्पिक मार्ग अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।
यसअघि पनि पहिलो चरणमा २०८१ चैत्र २७ देखि ३१ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र दोस्रो चरणमा २०८२ बैशाख १ गतेदेखि १५ गतेसम्म प्रत्येक राती ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology