काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको आरोप लगाएका छन् । लोकतन्त्र दिवसको अवसरमा बिहीवार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संवैधानिक आयोगका पदाधिकारीहरुलाई अदालतले ‘तलाई हान्दिउँ’ भन्दै झुलाइरहेको आरोप लगाए ।
आयोगका पदाधिकारीहरुको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्तिको परीक्षण नभएको उनको भनाइ छ । महामन्त्री थापाले अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ? भन्दै प्रश्न गरे । उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत दोषिलाई कारबाही गर्ने कुरामा राजनीतिक डिल गर्ने गरेको टिप्पणी गरे ।
उनले लोकतन्त्रको कडीका रुपमा रहेका संस्थाहरुप्रति जनताको विश्वास घट्दै गएको बताए । अदालत, अख्तियार र संसदको प्रभावकारीतामाथि निराशा पैदा भइरहेको बताए । थापाले अख्तियार, अदालत, संसद र पार्टीमाथि जनतामा संशय पैदा हुनु नै लोकतन्त्रको मुख्य चुनौती रहेको महामन्त्री थापाको भनाइ छ ।
उनले मुलुक र लोकतन्त्रमा देखिएका समस्याहरुको समाधान नेपाली काँग्रेसले दिनुपर्ने बताए । महामन्त्री थापाले चाह्यो भने नेपाली काँग्रेस सरकारबाट बाहिरिनसक्ने समेत टिप्पणी गरे । उनले लोकतन्त्रको रक्षा र जनताको अधिकार प्राप्तिको लागि कसैसँगपनि सम्झौता नगरिने स्पष्ट पारे । पूर्वराष्ट्रपति विद्यादेवी विद्या भण्डारी राजनीतिमा आउन लागेको चर्चा कोट्याउँदै काँग्रेसबाट राष्ट्रपति हुने मान्छेलाई पार्टीमा नफर्काइने उल्लेख गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology