बुटवल । रुपन्देहीमा ग्यास्ट्रो तथा लिभर सम्बन्धि विशेषज्ञ डाक्टरहरुको सम्मेलन हुनेभएको छ । ‘प्रथम लुम्बिनी ग्यास्ट्रो एण्ड लिभर अपडेट २०२५’ को व्यानरमा आयोजना हुने कार्यक्रममा नेपाल र भारतका एक सय भन्दा बढि विशेषज्ञ डाक्टरहरुको सहभागिता रहने जनाइएको छ ।
पछिल्लो समय पेट, आन्द्रा र कलेजोसम्बन्धी समस्या बढ्दै गइरहेका बेला यस क्षेत्रका विशेषज्ञ चिकित्सकहरुबीच नवीनतम ज्ञान, सीप र प्रविधि आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ । बुधवार बुटवलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक तथा वरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा. मोहन भुसालले पेट तथा कलेजो सम्बन्धी यो कार्यक्रम यस क्षेत्रमै पहिलोपटक हुन लागेको बताए । डा. भुसालका अनुसार चिकित्सा क्षेत्रमा हुने अनुसन्धान, प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय अनुभवको आदानप्रदान मार्फत चिकित्सकहरुको दक्षता अभिवृद्धि गर्ने मुख्य उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।
ग्यास्ट्रो सेन्टर बुटवल र भारतको बीएलके म्याक्स अस्पताल, दिल्लीको संयुक्त आयोजनामा यही वैशाख १३ गते रुपन्देहीको टाइगर प्यालेसमा कार्यक्रम हुनेछ । दिउँसो ३ बजे सुरु हुने कार्यक्रमको उद्घाटन नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशका अध्यक्ष डाक्टर कृष्ण खरेलले गर्नेछन् ।
एक दिवसीय कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त पेट, आन्द्रा र कलेजो रोग विशेषज्ञ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । बीएलके म्याक्स अस्पतालबाट डाक्टर गौरव सुडले कलेजोको प्रत्यारोपण तथा यससँग सम्बन्धित पछिल्ला प्रविधिबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै, वरिष्ठ ग्यास्ट्रोलोजिष्ट डाक्टर सदिपराज कुँवरले पेटरोग र इन्डोस्कोपी विधिबारे प्रस्तुती दिनेछन् ।
वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले जनावरबाट मानिसमा सर्ने रोग र तिनले फोक्सो तथा अन्य अंगमा पार्ने असरका सम्बन्धमा प्रस्तुति दिनेछन् । यस्तै वरिष्ठ रेडियोलोजिष्ट डाक्टर शोभित सिंहले कलेजो रोगको उपचारमा रेडियोलोजी सेवा र यसको प्रयोगबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।
यसैगरी डाक्टर पुकार थापाले औषधि र वैकल्पिक चिकित्सा (सीएएम) को कलेजोमा पार्ने असर र नवीनतम उपचार प्रविधिबारे प्रस्तुति दिनेछन्। कार्यक्रम संयोजक समेत रहेका वरिष्ठ ग्यास्ट्रोलोजिष्ट डाक्टर मोहन भुसाल स्वयंले जण्डिसका कारण उत्पन्न हुने छोटो र लामो समयका असर, बेहोसीपन र यससम्बन्धी समस्याका बारेमा कार्यपत्र पेस गर्नेछन् ।
कार्यक्रममा वरिष्ठ ग्यास्ट्रोलोजिष्ट डाक्टर रबिन हमालले एक्युट प्यान्क्रियाटाइटिस अर्थात् पाचन ग्रन्थिको अचानक हुने सुजन र त्यसको समाधानबारे विस्तृत कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ ।
सम्मेलनबाट चिकित्सकहरुले अन्तर्राष्ट्रिय अनुभव, अनुसन्धान र प्रविधिको जानकारी लिँदै नेपाली सन्दर्भमा यसको प्रयोगबारे सोच्न, बुझ्न र अभ्यास गर्न सक्ने वातावरण बन्ने आयोजकको विश्वास छ । कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पा, गुल्मी, प्यूठान, दाङ, अर्घाखाँची लगायत जिल्लाका विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहनेछ ।
कार्यक्रमले पेट तथा कलेजोसम्बन्धी रोगहरूको उपचारका लागि राजधानी वा विदेश जानुपर्ने बाध्यतामा कमी ल्याउने बि एल के म्याक्स अस्पताल दिल्लीका नेपाल प्रतिनिधि सविन कार्कीले बताए ।
अनावश्यक रेफर प्रणालीलाई न्यून गर्दै स्थानीय स्तरमा नै गुणस्तरीय सेवा दिने आधार तयार गर्न कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology