काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा अहिले धेरै कुराहरु रहेको भएपनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिए ।
नेता कोइरालाले अहिले काँग्रेस र एमाले सम्मिलित सरकार रहेकाले सरकारका काम कारबाहीमा काँग्रेसले खबरदारी गर्नुपर्ने बताए । एमाले नेपाली काँग्रेसका लागि भविष्यको पनि प्रतिष्पर्धी भएकाले सोंचेर अघि बढ्न जरुरी रहेको उनले बताए । संविधान पुनरावलोकन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने बताउँदै उनले दण्डहिनता दिनप्रतिदिन बढिरहेको उल्लेख गरे ।
‘राजनीतिमा अहिले धेरै कुरा छन् । ति कुरालाई ध्यानमा दिएर यो सरकार, जो अहिले सरकार छ । नेपाली काँग्रेस सम्मिलित सरकार हो यो । यो सरकारमा हामी पनि सरकारमा छौँ ।’ नेता कोईरालाले भने, ‘मैले त एउटा कुरा भन्ने गरेको छु, हामी सत्तामा छौँ तर सरकारमा छैनौँ । किनभने हाम्रो प्रतिष्पर्धी कुनैपनि ठाउँमा एमाले हुन्छ । हामी अहिले एमालेसित सहकार्य गरेर अघि बढिरहेका छौँ । यसलाई म खराब भनिरहेको छैन । तर यो सरकारले कतै गलत, कमी कमजोरी गरिरहेको छ की भनेर हामीले खबरदारी गरिरहनुपर्छ ।’
प्रतिनिधिसभा सदस्य समेत रहेका कोईरालाले अमेरिकाको ट्यारिफ नीति तेस्रो विश्वयुद्ध भन्दा पनि ठूलो हुने खतरा रहेको जिकिर गरे । सुलभ स्वास्थ्य कसरी दिने भन्नेबारेमा नेपालीले सोच्नुपर्ने बताउँदै नेपाल आफ्नै खुट्टामा उभिनसक्छ भन्ने सोच राखेर अघि बढ्न जरुरी रहेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology