काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मेहनतबाट नै देश निर्माण हुने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक वृत्तमा पनि मेहनतको खाँचो रहेको उल्लेख गरे ।
महतले सरकारी तथा गैरसरकारी क्षेत्रमा पनि इमान्दारिता र मेहनतको खाँचो रहेको बताउँदै सत्तामा रहे पनि वा नरहे पनि नेपाली काँग्रेस सहीलाई सही र गलतलाई गलत भन्ने पार्टी भएको दावी गरे ।
सजिलो हुँदा अघि बढ्ने र असहज हुँदा पन्छिने नयाँ राजनीतिक दलहरुबाट अधिकारको रक्षा हुन नसक्ने उनले जिकिर गरे । महतले भएका कमी, कमजोरीप्रति नागरिकले खबरदारी गर्ने र जनताको खबरदारीलाई नसुने पराजित हुनुपर्ने बताए ।
‘मेहनतबाट नै देश निर्माण हुन्छ । पोल्टिकल तहमा पनि मेहनतको थप खाँचो छ । गैरसरकारी क्षेत्र, जुन निजी क्षेत्र छ, त्यहाँ पनि हार्ड वर्किङ र अनेस्टीको खाँचो छ । जहाँ हामी काम गर्छौं त्यो मेरो काम हो भनेर गर्नुपर्छ ।’ महतले भने, ‘नेपाली काँग्रेसको अनुभव, प्रतिवद्धता जुन छ, अफ्ठ्यारो जस्तो अवस्थामा पनि अडिग रहन्छ । अफ्ठयारो पर्दा कहाँ हो कहाँ र सहज भए अघि आउने पार्टीहरुले अधिकारको रक्षा गर्न सक्दैनन् ।’
नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका सांसद महतले वित्तीय संस्था सम्बन्धी जोडिएका विषयहरुमा पनि गम्भीरताका साथ हेरिरहेको बताए । वित्तीय संस्था कर्मचारी संघले अधिकार र जिम्मेवारीलाई सँगै लिएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले जनताको महत्वकांक्षा अनुसार सुविधा प्रदान गर्न सक्नुपर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology