काठमाडौं । वीरगञ्जको बालसुधार गृहमा डेढ वर्षपछि फेरि तनाव उत्पन्न भएको छ । बालसुधार गृहमा रहेका बाल कैदीबन्दीले सुधार गृहमा खाना, बास लगायतको समस्या भएको भन्दै मंगलवार होहल्ला तथा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो ।
सुधार गृहमा बाल कैदीबन्दीहरुले होहल्ला गर्दै तोडफोड गर्न खोजेको सूचना पाएलगत्तै त्यहाँ पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए । अहिले सुधार गृहभित्रै असन्तुष्ट बाल कैदीबन्दीहरुसँग पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक मिश्र,प्रहरी नायब उपरीक्षक किशोर लम्साल सहितको टोलीले छलफल गरी उनीहरुको माग सम्बोधन गर्ने आश्वासन दिएपछि अहिले स्थिति समान्य भएको प्रवक्ता लम्सालले बताए ।
बाल सुधार गृहमा विभिन्न कसुरमा संलग्न एक सय २७ जना बाल कैदीबन्दीहरु छन् । तर सुधार गृहको क्षमता ५० जनासम्मको छ । बाल कैदीबन्दीहरु आक्रोशित हुनुमा सरकारी संघ संस्थादेखि, गैरसरकारी संघसंस्था धेरै आउने गरेको कारण रहेको पनि बताए । उनले एक महिनामा अनुगमनका लागि भनेर ५÷७ पटक भन्दा बढी टोलीहरु आउने क्रम रहेको बताए ।
लम्सालका अनुसार यो क्रम तीन वर्षदेखि नै जारी रहेको र उनीहरुले शोधपुछ गर्ने क्रममा तपाईंहरुका समस्या समाधान गर्छौं भन्ने आश्वासन दिने तर अहिलेसम्म पूरा नगरेकोमा आफूहरुलाई जिस्क्याएको महशुस गरेर आक्रोशित भएको हुनसक्ने बताए ।
यसअघि २०८० भदौ २६ गतेपनि बालसुधार गृहमा बालकैदीबन्दीहरुबीच नै आपसमा झडप हुँदा ११ बालकैदीबन्दी र ३ जना प्रहरी घाइते भएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology