काठमाडौं । गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भएको आरोप लगाएको छ । शुक्रवार साँझ गृह मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रवारको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको कारण अगामि दिनमा सरकार संयमित भएर नबस्ने बताए ।
उनले राजावादीको हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवार व्यवसायी दुर्गा प्रसाईं रहेको बताए । आन्दोलनको नेतृत्व लिएको कारण घटनाप्रति प्रसाईं जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
रिजालले हिंसात्मक र लुटपाटको कार्यमा संलग्न जोसुकै भएपनि कानूनी दायरामा ल्याइने बताए । उनका अनुसार राजावादीको तीनकुने आन्दोलनमा झडप हुँदा १५ जना सुरक्षाकर्मीसहति ३० जना घाइते भएका छन् । आन्दोलतका क्रममा कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको छ । राजसंस्था पुनःस्थापनाका लागि आयोजित राजावादीको आन्दोलन हिंसात्मक बनिरहँदा प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो ।
व्यक्तिका निजी सम्पती, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भत्र्सनायोग्य गर्दै मन्त्रालयले हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजकनै पूर्ण रुपमा जिम्मेवार रहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology