काठमाडौँ । साविक विजेता अर्जेन्टिना नर्थ अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि अर्जेन्टिनाले ब्राजिलसँग खेल्नुअघि नै आफ्नो विश्वकप यात्रा सुरक्षित गरेको हो।
दक्षिण अमेरिकी छनोट प्रक्रियामा १० टोली सहभागी छन्, जसबाट शीर्ष ६ टिम सिधै विश्वकपमा छनोट हुनेछन्। अर्जेन्टिनाले हालसम्म १३ खेल खेल्दा २८ अंक जोडेको छ र दोस्रो स्थानको टोलीभन्दा ६ अंकको अग्रता बनाएको छ।
साविक विजेता अर्जेन्टिना विश्वकप २०२६ का लागि छनोट हुने पहिलो दक्षिण अमेरिकी टिम बनेको छ। अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपमा अर्जेन्टिनाले आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
यसैबीच, अर्जेन्टिनाले हाल ब्राजिलसँग प्रतिस्पर्धा गरिरहेको छ।
हालसम्म तीन आयोजक राष्ट्रसहित सात टोली विश्वकपमा स्थान बनाइसकेका छन्। एसियाबाट जापान र इरान तथा ओसियानाबाट न्युजिल्याण्ड छनोट भएका छन्।
सन् २०२६ को फिफा विश्वकपमा कुल ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्, जसका लागि विभिन्न महादेशका टोलीहरु छनोट प्रक्रियामा रहेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology