देवदह । भ्रष्टाचार र राजनीतिक अराजकता बढेको भन्दै राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृती र नागरिक बचाउ महा अभियानले राजधानी केन्द्रित आन्दोलन गर्ने जनाएको छ । प्रमुख राजनीतिक दलहरुले देशलाई अनिर्णयको बन्दि बनाएको भन्दै अभियानले देशभरका नागरिक जम्मा पारेर चैत १५ गते राजधानी केन्द्रित आन्दोलन गर्ने जनाएको हो ।
आन्दोलनबारे जानकारी दिन आज अभियानको लुमिबनी अञ्चल कार्यसमितिले देवदहमा गरेको पत्रकार सम्मेलनमा संयोजक धनबहादुर अधिकारीले राजसंस्था पुनःस्थापना विना देशले निकास नपाउने दावी गरे । उनले नेपाली जनताको जोडबलले गणतन्त्र स्थापना भएपनि नेताहरु भ्रष्टाचारमा लिप्त भएकै कारण २ दशक नहुँदै पुन्ह आन्दोलनमा जानुपरेको उल्लेख गरे ।
‘हामीले लामो समयदेखि दलहरु सच्चिएलान् भनेर खवरदारी गरिरह्यौं, तर दलका नेताहरु झन भ्रष्टाचार गर्ने र भ्रष्टाचारीको पक्षपोषणमा लिप्त भए ।’ उनले भने, ‘जसका कारण देश आर्थिक संकटमा फँस्यो र परनिर्भरता चुलिदै गयो ।’ अव चैत्र १५ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन सुरु हुने उनले जनाए ।
आफुहरुको अभियानले भुँईमान्छे, बैङ्क तथा वित्तिय संस्था पिडित, मिटर व्याज पिडित, र दु्ःखी गरिव सर्वहाराको पक्षको संरक्षण गर्ने बताउदै उनले पुर्वराजाले जसरीनै नेताहरुले यो व्यवस्थालाई छिट्टै फिर्ता गर्ने अवस्थामा पु¥याएरै छाड्ने उल्लेख गरे । त्यसैको लागि आन्दोलन अपरिहार्य रहेको भन्दै अधिकारीले लुम्बिनी प्रदेशबाट स्वतः स्फुर्त रुपमा आन्दोलनमा सहभागिताका लागि हजारौंको संख्यामा जनताहरु राजधानी जाने तैयारी गरिरहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी देवदहका अध्यक्ष माधव रिमालले परिक्षणको लागि प्रदान गरिएको गणतन्त्रको आयु अव लामो नभएको बताए । उनले प्रजातन्त्र दिवसको अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रका नाममा गरेको सम्बोधनबाट सरकार र दलका नेताहरु आत्तिएको भन्दै त्यसले पनि व्यवस्था परिवर्तनको संकेत गरेको उल्लेख गरे ।
उनले २०६२÷०६३ को आन्दोलनपछि देशलाई आर्थिक संकट तर्फ अग्रसर बनाएको भन्दै सरकारी कलकारखाना वन्द गरेर राज्यले मुठ्ठी भर व्यापारीको पक्षपोषण गरिरहेको आरोप लगाए । दिन प्रतिदिन भईरहेको मुल्यबृद्धि प्रति राज्य किन उदासिन छ ? के यो राज्य यिनीहरुको विर्ता हो ? रिमालले प्रश्न गरे । राज्यले सवै जनताको अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै जात र धर्म लाई जुधाएर लडाएर शासकहरुले राज गरिरहेको समेत आरोप लगाए ।
लुम्बिनी अञ्चल समितिका सचिव बमबहादुर खत्रीको सञ्चालनमा भएको कार्यक्रममा अभियानका केन्द्रिय सदस्य चेतनाथ शर्मा, हरिबहादुर खत्री, नवलपरासी सचिव ओमप्रकाश गुप्ता लगाएतले बोल्दै अहिलेको वर्तमान परिस्थितिलाई सम्हाल्ने एकमात्र विकल्प भनेको राजसंस्था पुनर्रस्थापना नै रहेको दावी गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology