देवदह । पर्वत-रुपन्देही सेवा समाज देवदह नगर समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भीमलाल काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्ष सूर्यकान्त रेग्मी, उपाध्यक्ष राधाकृष्ण न्यौपाने, सचिव यमलाल शर्मा, सहसचिव भगवती तिवारी र कोषाध्यक्ष गोमा भुर्तेल चयन भएका छन्। १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको समाजका केन्द्रीय महासचिव तथा निर्वाचन समिति प्रमुख टेकराज शर्मा पौडेलले जानकारी दिए।
अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्वत रुपन्देही सेवा समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माले संस्थाले सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। उनले समस्यामा परेका पर्वतेहरुलाई सहयोग गर्ने, सुख-दुःखमा साथ दिने काममा संस्था लागिरहेको बताए ।
अध्यक्ष शर्माले देवदह क्षेत्रमा पर्वतेहरुको मेहनत मात्र होइन, बलिदानसमेत रहेको उल्लेख गर्दै भावी पुस्तालाई समाज सेवामा जोड्नुपर्ने आवश्यकता औंल्याए। उनले समाजको बुटवलमा केन्द्रीय कार्यालय स्थापनासँगै तिलोत्तमामा ९ कठ्ठा जग्गामा भवन निर्माणको डिपिआर तयार गरिएको जानकारी गराए।

अधिवेशनमा गुरुङ भाषा अभियन्ता भीम गुरुङ, जनप्रतिनिधि टिकाराम विक, शिवलाल भुसाल, टेकराज शर्मा लगायतले समाजको आगामी योजनाबारे धारणा राखेका थिए।
कार्यक्रममा अध्यक्ष दिनानाथ सापकोटाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष यम कुमारी भुसालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको थियो।
नयाँ कार्यसमितिले आगामी दिनमा सामाजिक सेवाका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology