काठमाडौं । आज विश्वभर पानी दिवस मनाइँदैछ। जलवायु परिवर्तन, औद्योगीकरण, जनसङ्ख्या वृद्धिलगायत कारणले पानीको स्रोत घट्दै गएको छ, जसले विश्वव्यापी रूपमा गम्भीर असर पारिरहेको छ।
हिमनदीहरू खुम्चिँदै जानु जलस्रोतका लागि ठूलो खतरा बनेको छ। पानी दिवसले यस्ता समस्याप्रति सचेतना जगाउने र संरक्षणका उपायहरूबारे ध्यानाकर्षण गर्ने लक्ष्य राखेको छ। यो वर्षको पानी दिवसको नारा ‘हिमनदी संरक्षण’ भन्ने छ।
सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घको पहलमा मनाइँदै आएको यो दिवसले पानीको संरक्षण, उपलब्धता र व्यवस्थापनको आवश्यकता उजागर गर्दै आएको छ।
विश्वभरको कुल पानीमध्ये ९७.५ प्रतिशत समुद्रमा रहेको छ, जुन प्रत्यक्ष रूपमा उपभोग गर्न मिल्दैन। पिउनयोग्य पानी केवल २.५ प्रतिशत मात्र उपलब्ध छ, जसको उचित संरक्षण आवश्यक छ।
नेपालमा प्रतिव्यक्ति ३,६०० घनमिटर पानीको स्रोत भए पनि यसको वास्तविक उपभोग भने ३९३.५ घनमिटरमा सीमित छ। पानीको अपव्यय, अनियन्त्रित दोहन र कमजोर व्यवस्थापनका कारण जलस्रोत उपयोगमा चुनौती देखिएको छ।
जलवायु परिवर्तनको प्रभावले पानीको पारम्परिक स्रोतहरूमा गम्भीर असर पार्दै गएको छ। हाल विश्वका करिब एक अर्ब मानिस पानी अभावको समस्यामा परेका छन्।
राष्ट्रसङ्घका तथ्यांकअनुसार कुल पानीको ४० देखि ६० प्रतिशतसम्म चुहावट र दुरुपयोग हुने गरेको छ। जनसङ्ख्या वृद्धिसँगै शुद्ध पानीको अभाव झन् गहिरिँदै गइरहेको छ।
नेपाल जस्तै जलस्रोतमा धनी मुलुकहरूमा समेत स्वच्छ पानीको सुनिश्चितता गर्न नसकिनु चिन्ताको विषय बनेको छ। यस कारण, पानी दिवसले जल व्यवस्थापन सुधार, पानीको न्यायोचित वितरण र स्रोतहरूको दिगो उपयोगको आवश्यकता झल्काउनेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology