काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामलाई पूरा गर्न वैदेशिक ऋण लिन बाध्य हुनु परेको बताएका छन् । बिहिवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले देशलाई गरिबीको दयनीय अवस्थाबाट छिटो मुक्त गर्न काम गरी रहेको दाबी गरे ।
असहज आर्थिक अवस्थामा गुज्रिरहेको परिप्रेक्षमा वर्तमान सरकार बनेको बताउँदै उनले उत्पादकत्व बढी भएका ठाउँमा लगानी गर्न ऋणको रकम खर्च भइरहेको उल्लेख गरे । कतिपय विकास निर्माणका काम अन्तिम चरणमा रहेको तर ऋण बाहेक अर्को विकल्प नभएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नेपाल सरकारका कर्मचारी लोकसेवा आयोगमार्फत नियुक्ति गरिने भएकाले सरकारले आफ्नो मान्छे राख्यो भन्ने भनाइ आरोप मात्रै भएको दावी गरे । उनले कर्मचारी नियुक्ति प्रक्रियामा सरकारको मान्छे राख्न लोकसेवा अयोगले सहयोग पु¥याउँछ भन्ने कुरामा आफूलाई विश्वास नभएको जिकिर गरे ।
प्रधानमन्त्रीले कर्मचारीको ज्ञान, सीप, अनुभव र कार्यंक्षमताको आधारमा पदस्थापन तथा सरुवा गर्ने गरिएको बताउँदै कानुन विपरित काम गर्ने कर्मचारी दण्डित भइरहेको दाबी समेत गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology