बुटवल । नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई निलम्बन गर्न लागिरहेको बिरोधमा बुटवलमा चक्काजाम भएको छ । पूर्व पश्चिम लोकमार्ग स्थित बुटवल १२ तामनगरमा ३० मिनेट चक्काजाम गरिएको हो ।
तामनगर ब्याडमिन्टन क्लब, तामनगर व्यापार समिति र इभोलुसन क्लब अफ बुटवल एवम् विभिन्न टोल विकास संस्था लगाएत अन्य विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा चक्काजाम भएको हो । दैनिक १८ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवही कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ्गलाई हटाउन उर्जा मन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् ।
२०८० भदौ २९ गते ४ वर्षका लागि नियुक्त भएका घिसिङ्गलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैसाखी टेकेर हटाउन लागिएको षड्यन्त्रको विरोध गर्दै जनस्तरबाट पहिलो पटक बुटवलमा चक्काजाम गरिएको हो । लोडसेडिङ सधैंका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा सम्पूर्ण नेपालीहरू एकजुट भई अगाडि बढ्न र उज्यालो अभियानका प्रणेताका रुपमा स्थापित कुलमान घिसिङ्गलाई साथ दिन ईभुलोसन क्लबका अध्यक्ष राम बहादुर पुनले अनुरोध गरे ।
सहभागिहरुले घिसिङ्गलाई हटाए शासक दलहरुको हैसियत पनि शुन्य बनाइदिने समेत बताए । यम प्रसाद गलामीको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन इभोलुसन क्लबका सचिव हेमन बलालले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology