देवदह । रूपन्देहीको देवदहमा संसदीय बैठक संचालन सम्बन्धी तालिम सम्पन्न भएको छ । देवदह जेसिजको आयोजनामा जेसिजको एरिया डि अन्तरगतका १८ वटा शाखाका पदाधिकारीहरूलाई शनिवार एकदिने तालिम दिइएको हो ।
तालिमको उद्घाटन गर्दै देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्रीले जेसिज असल युवाहरूको संगठन भएको बताए । देशका तीन वटै तहका सरकारले अभ्यास गरिरहेको संसदीय प्रक्रियाको बारेमा बुझ्न जरूरी रहेको उल्लेख गर्दै उनले जेसिजले सन्चालन गर्ने तालिम विशिष्ट र व्यवस्थित हुने बताए । संघ र प्रदेशमा प्रतिपक्षसहितको संसद हुने भएपनि स्थानीय तह प्रतिपक्षविहीन हुने भएकोले स्थानीय तहमा निर्वाचित प्रतिनिधिले दलीय राजनीति गर्न नहुने उनको भनाई छ ।
यसैगरी तालिमको समापन समारोहलाई सम्बोधन गर्दै जेसीजका निर्वतमान राष्ट्रिय अध्यक्ष रविन पोख्रेलले जेसिज एउटा जिम्मेवार संस्था मात्र नभएर सिक्ने थलोसमेत भएको बताए । जेसिजमा आफ्नो सुरुवाती चरणको स्मरण गर्दै उनले बैठक संचालन तालिमले आफ्नो नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । युवाहरू आत्मनिर्भर हूनुपर्ने र असल कर्ममा जोडिनु पर्ने उल्लेख गर्दै उनले सकारात्मक उर्जा प्रवाह अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।
देवदह जेसीजका अध्यक्ष दिपक अधिकारीले जेसिजले युवाहरूलाई आत्मनिर्भर बनाउने र सकारात्मक कर्ममा लागिरहने प्रेरणा दिने बताए । उनले संसदीय बैठक संचालन तालिमसंगै जेसिजमा महत्वपूर्ण योगदान दिएका संस्थाका संस्थापक उपाध्यक्षद्वय पर्शुराम कँडेल र प्रदिप तिवारीलाई मानार्थ सदस्यता प्रदान गरिएको बताए । कँडेल र तिवारी थपिएसंगै देवदह जेसिजका मानार्थ सदस्यको संख्या ७ पुगेको छ । यस अघि हिरा बहादुर खत्री, विद्यालक्ष्मी गुरुङ, यकबहादुर सुनार, मोहन जिसी र दामोदार क्षेत्री देवदह जेसिजका मानार्थ सदस्य थिए ।
तालिममा नेपाल जेसीज २०२५ का राष्ट्रिय कार्यकारी उपाध्यक्षद्वय सौरभ श्रेष्ठ र गणेश सापकोटा, जेसिजका प्रशिक्षकद्वय सुनील तिमल्सिना र शिव भुसाल, राष्ट्रिय उपाध्यक्ष सन्दीप खत्री, देवदह जेसीजका संस्थापक अध्यक्ष विजय गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा देवदह जेसीजका अध्यक्ष दिपक अधिकारीको अध्यक्षता, बुटवल जेसिसका अध्यक्ष मोहन न्यौपानेको स्वागत र देवदह जेसिजका महासचिव कमला अर्यालको संचालन रहेको थियो ।
तालिममा देशका विभिन्न स्थानबाट सहभागी ६९ जना जेसिज सदस्य र अतिथीहरूलाई देवदहमा उत्पादन हुने लोमुर पौष्टिक आहार उपहार दिइएको छ । जेसिजको स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै युवालाई आत्मनिर्भर बनाउने अभियान अन्तरगत लोमुर पौष्टिक आहारलाई उपहारको रुपमा प्रदान गरिएको देवदह जेसिजले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology