काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच भएको वार्ताका क्रममा दुई नेताबीच तनावको स्थिति उत्पन्न भएको छ ।
उनीहरूबीच केही समय भनाभनसमेत भएको थियो । ह्वाइट हाउसमा उपराष्ट्रपति जेडी भान्सको साथमा रहेका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई विभिन्न आरोप लगाएपछि स्थिति असहज बनेको हो ।
ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने बताएपछि वार्तामा भनाभनको स्थिति बन्यो ।
ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि उनी कुराकानी छोडेर बिचमै निस्किएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता तनावमा सकिएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सञ्चार माध्यमसामु उभिँदै अमेरिकाको साथ बिना युद्ध कठिन हुने महसुस गर्दै वार्तामा बसेको तर आफ्नो स्वतन्त्रता गुमाउन नसकिने बताए ।
वार्ताको क्रममा रुससहितको खनिज डिलको प्रस्ताव आएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले असहमति जनाएका हुन् ।
फक्स न्युजसँगको अन्तरवार्तामा जेलेन्स्कीले आफ्नो अमेरिकी राष्ट्रपति ट्रम्प र अमेरिका प्रतिको सम्मान यथावतै रहनेसमेत बताएका छन् । उनले अझ सम्बन्ध सुमधुर रहने कुरामा विश्वास रहेको समेत बताए ।
अमेरिका र युक्रनेबीच हुने भनिएको खनिज सम्झौता पनि नहुने भएको छ । जेलेन्स्कीले अमेरिकाले युद्धको क्रममा गरेको सहयोगमा धन्यवाद ज्ञापन गर्दै युक्रेन र अमेरिकाको सम्बन्ध दुई राष्ट्रपतिको सम्बन्ध भन्दा धेरैमाथि रहेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology