नवलपरासी । पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ८ बैरागनाथमा लाग्ने महाशिवरात्री मेलाको तयारी सुरु भएको छ । आइतबार बैरागनाथ शिव मन्दिर प्राङ्गणमा पत्रकार भेटघाट गर्दै मेलाको तयारी र व्यवस्थापन चुस्तदुरुस्त बनाइएको जानकारी गराइएको हो ।
बैरागनाथ शिव मन्दिरमा सयौं वर्ष अगाडिदेखि शिवरात्री मेला लाग्ने र यस वर्ष दुई दिन विशेष मेला लाग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सानुबाबु श्रेष्ठले जानकारी दिए । फागुन १३ गते पण्डित नारायण भट्टराईबाट कथावाचन एवं पुराणपाठ, भजन कृतन, कलश यात्रा हुने र फागुन १४ गते विशेष भजन कृतनसहित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने अध्यक्ष श्रेष्ठले बताए ।
सुनवल नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष देउ बहादुर गुरुङले मेला व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि वडाले ४८ हजार रुपैयाँ विनियोजन गरेको र पुरातात्त्विक र ऎतिहासिक मेला भएकोले संरक्षणमा विशेष ध्यान दिइएको बताए ।
फागुन १३ र १४ गते हुने मेलामा भजन कृतनसहित राष्ट्रिय कलाकारको प्रस्तुति रहने र महशिवरात्रीको दिन साझ ५ बजेदेखि बिहान ५ बजेसम्म अखण्ड भजनकृतन र अखण्ड दिप प्रज्वलन हुने स्थानीय शिक्षक हरि कुमार ढकालले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology