देवदह । लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले राजनीतिक व्यवस्था परिवर्तन भएपनि शिक्षा क्षेत्रमा परिवर्तन हुन नसकेको बताएका छन् । मुलुकमा राजनीतिक अस्थिरता कायमै रहेको हुनाले शिक्षा क्षेत्रको उल्लेख्य विकास हुन नसकेको उनले बताए ।
बुधवार देवदहस्थित सगरमाथा आवायीय माध्यमिक विद्यालयको ३१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पुर्व मुख्यमन्त्री गिरीले देशको विकास नचाहने र अस्थिरतामै रमाउने तत्वले व्यवधान खडा गरिरहेको हुनाले शिक्षा लगायतका क्षेत्रमा प्रगति हुन नसकेको बताए ।
‘बेलाबेलामा सबै शिक्षाको सरकारीकरण गर्ने कुरा उठ्छ ।’ उनले भने, ‘सरकारले निजी शिक्षालयहरुलाई सरकारीकरण गर्ने हो भने क्षतिपूर्ति दिनुपर्छ ।’
राजनीतिक विषयमा कुरा गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य समेत रहेका नेता गिरीले केपी ओली नेतृत्वको सरकारले विकास र सुशासनमा काम गरिरहेको बताए । ‘अहिले जुन सरकार बनेको छ । बाहिरबाट हेर्दा दुई ठुला दलहरुको मिलन अप्राकृतिक जस्तो देखिएपनि स्थिरताको लागि दलहरु मिलेका हुन् ।’ उनले भने, ‘बाहिर प्रचार गरिए झैँ नभएर दलीय सिद्धान्तभन्दा माथि उठेर देशको हितको लागि ठुला दलले सहकार्य गरेका हुन् ।’
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले वि.सं २०५१ सालमा ६५ जना विद्यार्थी र चार जना शिक्षकले सुरु गरेको सगरमाथामा हाल एक हजार पाँच सय २८ जना विद्यार्थी अध्ययनरत र एक सय ३ जना शिक्षक कर्मचारी कार्यरत रहेको बताए । २०६९ सालमा माध्यमिक तह सुरु गरेको विद्यालयले त्यसयता निरन्तर शत प्रतिशत नतिजा दिंदै आएको र २०६२ सालको एसएलसीमा बोर्ड सेकेण्ड गरेको जानकारी दिए । २०७१ सालमा कक्षा १२ मा व्यवस्थापन तर्फ पश्चिमान्चल टपर विद्यार्थी सगरमाथाको रहेको प्राचार्य पौडेलले बताए ।
हालसम्म विद्यालयबाट एक हजार एक सय ४३ जना कक्षा १० उत्तीर्ण गरेको उल्लेख गर्दै उनले विभिन्न प्रतियोगितामा सगरमाथाका विद्यार्थी सधै पुरस्कृत हुँदै आएको बताए । विद्यालय आईएसओ सर्टिफाईडसमेत भएर अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उनको भनाइ छ ।
सो अवसरमा आईएसओका नेपाल प्रतिनिधि सुदिप शर्माले सगरमाथालाई आईएसओ सर्टिफाईड प्रमाणपत्र प्रदान गरेका छन् । विद्यालयले आईएसओका सबै सूचक पुरा गरेपछि प्रमाणपत्र प्रदान गरिएको उनले बताए ।
विद्यालयले वार्षिकोत्सव समारोहमा उत्कृष्ट शिक्षक, विद्यार्थी र कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । साथै विद्यालयका अभिभावक रहेका जेष्ठ नागरिकहरुलाई समेत उक्त अवसरमा सम्मान गरियो ।
यसैगरी विद्यालयले सगरमाथा शिक्षा पत्रकारिता पुरस्कारबाट सेतोमसीका सम्पादक विष्णु पोखरेललाई पुरस्कृत गरेको छ । शिक्षा क्षेत्रकालाई प्राथमिकतामा राखेर समाचार प्रकाशन प्रसारण गरेकोले सम्पादक पोखरेललाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।
वार्षिकोत्सव समारोहमा लुम्बिनी प्रदेशका पुर्व सांसद दधिराम न्यौपाने, देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, प्याब्सन तथा नेशनल प्याब्सनका विभिन्न तहका पदाधिकारीहरु, अभिभावक छवि पोखरेल लगायतले बोलेका थिए ।
विद्यार्थीहरुद्वारा सचेतनामुलक नाटक, गीत, नृत्य आदि प्रस्तुत गरिएको कार्यक्रम विद्यालयका अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षता र विद्यालयका सहायक प्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology