देवदह । पूर्वपश्चिम लोकमार्गको भलुहीबाट करिब पाँच किलोमिटर उत्तरतर्फ हरियाली जंगलले सजिएको, चराचुरुंगीको मिठो गुन्गुनाहटले गुञ्जिएको र खोलाको कलकल ध्वनिले मनमोहक संगीत भरिरहने गाउँ हो - उजेरी । प्राकृतिक सौन्दर्यमा रमाईरहेका उजेरीवासीहरू केही वर्षदेखि यहाँ पर्यटक भित्र्याएर उनीहरुलाई प्रकृति र संस्कृतिको मीठो अनुभूति दिलाउन सामुदायिक होमस्टे संचालन गरिरहेका छन् ।
'खाने मुखलाई जुंगाले छेक्दैन' भने झैँ भौतिक पूर्वाधारको अभावका बीच उजेरीबासीले वि सं २०७९ सालमा होमस्टे सुरु गरे । सांस्कृतिक भवन थिएन, खुल्ला आकाशमुनी पाहुनालाई स्वगत गरे । सुरुवाती समयमा ७ वटा घरमा पाहुना व्यवस्थापन गर्दै आएका उजेरीवासीले अहिले १० वटा घरमा पाहुना राख्दै आएका छन् । दैनिक २० जना पाहुनालाई सेवा दिन उनीहरु तम्तयार देखिन्छन् ।
समयसंगै उजेरी होमस्टेले आफुलाई परिस्कृत गर्दै आएको छ । देवदह नगरपालिका र राज्यका विभिन्न निकायको सहयोगमा सांस्कृतिक भवन तयार भएको छ । संचालकहरु विभिन्न तालिममा सहभागी भएका छन् । उनीहरुको ज्ञान र सिपको दायरा दिनानुदिन बढ्दै गएको छ ।
यसैबीच उजेरी सामुदायिक होमस्टेले स्थानीय उत्पादनबाटै पाहुनालाई ६० प्रकारका परिकारको स्वाद चखाउन सक्ने भएको छ । माघ २० गतेदेखि सुरु भएको एकहप्ते होमस्टे व्यवस्थापन तालिममा सहभागीहरुले आफुहरु ६० वटा परिकार बनाउन सक्षम भएको बताए ।
तालिममा सहभागी मायादेवी सोमईले मकैको विस्कुट, सागको पकौडा, केराको थामको चिप्स, मेवाको जाम, पोटाटो कुरकेट, फापरको पानकेक, तरुलको ढिडो, फर्सीको खिर लगायतका ६० परिकार बनाउन र पाहुनालाई सेवा गर्न आफुहरु सक्षम भएको बताइन् ।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा संचालित तालिमको शनिबार एक कार्यक्रमबीच समापन गरिएको छ ।
समापान कार्यक्रममा बोल्दै होमस्टेका अध्यक्ष विष्णु बरालले तालिममा पाककलासंगै, उद्घोषणकला, सत्कारकला, सौन्दर्यकला र विदाईकला जस्ता अत्यावश्यक विषयमा ज्ञान प्राप्त भएको बताए ।
देवदह नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खेमबहादुर थापाले समाज रुपान्तरणमा अगुवाले बाटो देखाइदिनु पर्ने बताए । देवदहमा होमस्टे संचालन गर्न वि सं २०६२ सालदेखि नै क्रियाशिल रहेका अभियन्ता तर्फ इंकित गर्दै अध्यक्ष थापाले उजेरी विकासको मूल बाटोमा प्रवेश गरेको बताए । सडक पूर्वाधारमा वडा कार्यालयले काम गरिरहेको उल्लेख गर्दै उनले राज्यले गरेको लगानी अनुसार लगनशील भएर होमस्टे संचालन गर्न उजेरीवासीलाई आग्रह गरे । उनले होमस्टे संचालन भएका घरको रंगमा एकरुपता ल्याउनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला सदस्य प्रकाश अर्यालले देवदहको समृद्धिको आधार कृषि र पर्यटन भएको बताए । उनले पर्यटनको आगमनसंगै स्थानीय कृषि उत्पादनको खपत हुने र त्यसले उत्पादनमा वृद्धि गर्ने बताए । होमस्टेलाई प्रभावकारी रुपमा संचालन गर्न स्थानीय सहकारी, संघसंस्था र संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।
यसैगरी होमस्टे अभियन्ता तथा संचारकर्मी यम रानाले उजेरी होमस्टेले दर्ता गर्ने समयदेखि नै समस्याको सामना गर्दै अघि बढेको बताए । अत्यन्तै मेहनतले अहिलेको अवस्थामा होमस्टे आएको उल्लेख गर्दै उनले स्थानीय सरकार, संघसंस्था र सरोकारवाला सबैको सहयोग रहेमा उजेरी नमूना होमस्टेको रुपमा स्थापित हुने बताए । नगरकोटमा ब्राह्मण होमस्टे संचालनमा रहेको बताउंदै उनले सबै समुदायले होमस्टे संचालन गर्दै आएकोले यसको दायरा फराकिलो हुँदै गएको धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद भुसालले आवश्यकताका आधारमा कार्यालयले क्षमता अभिवृद्धि लगायतका कार्यक्रममा सहयोग गर्ने बताए । उनले तीन वटा होमस्टेमा तालिम दिने गरि पर्यटन डिभिजन कार्यालयले विनियोजन गरेको १० लाख बजेटमध्येबाट गुल्मीको भार्से र देवदहको उजेरीमा तालिम संचालन गरिएको बताए ।
१५ जना महिला र पाँच जना पुरुष गरी २० जना सहभागी तालिममा नगरकोट, बनेपा र रुपन्देहीका तीन जना प्रशिक्षकहरु मनिषा श्रेष्ठ, सुरज बास्तोला र रमणी डुम्रेले प्रशिक्षण दिएको डिभिजन पर्यटन कार्यालय रुपन्देहीका कार्यक्रम संयोजक जनकराज खनालले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology