काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय महिला टी-२ शृङ्खलामा लगातार चार खेलमा पराजित नेपाली महिला क्रिकेट टिमले बुधबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्याण्ड्ससँगको खेल बुधबार दिउँसो १२:१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ।
उपाधि होडबाट बाहिरिएको नेपालमाथि घरेलु मैदानमा जित निकाल्न नसक्दाको दबाब छ। पाहुना टोली नेदरल्याण्ड्स भने यसअघि दुई खेलमा नेपाललाई पराजित गरेकाले उच्च मनोबलका साथ मैदानमा हुनेछ।
पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले चुक्यो। तेस्रो खेलमा फेरि नेदरल्याण्ड्ससँग १५ रनले पराजित नेपाल चौथो खेलमा मंगलबार थाइल्याण्डसँग मात्र पाँच रनले पराजित भयो। उपाधिको गणितीय सम्भावना कायमै रहेको थाइल्याण्डसँगको खेल मंगलबार नेपालले गुमाएको हो।
नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा केही महत्त्वपूर्ण अवसर गुमाउँदा जितका लागि संघर्ष गर्नु परेको छ। बलिङ राम्रो हुँदा ब्याटिङमा कमजोर देखिएको नेपाल अहिले आफ्नै मैदानमा पहिलो जितका लागि संघर्ष गरिरहेको छ।
प्रतियोगितामा अपराजित थाइल्याण्ड आठ अंकका साथ शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्सले चार अंक जोडेको छ। चार खेल खेलिसकेको नेपाल अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ
नेपालको उपाधि यात्रा समाप्त भइसकेको छ। बुधबार हुने नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल सान्त्वना जित निकाल्न चाहन्छ। शृङ्खलाको अन्तिम खेलमा नेपालले शुक्रबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology