देवदह । नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । देवदह-७ स्थित रेडक्रस देवदह उपशाखाको कार्यालयमा साधारणसभा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले रेडक्रसलाई वडाको तर्फबाट सक्दो सहयोग गर्ने बताए । रेडक्रस विशुद्ध सामाजिक सेवामूलक संस्था भएको र विपदको बेला अग्रपङ्क्तिमा रहेर काम गरेको भन्दै उनले रेडक्रस देवदहको प्रशंसा गरे ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी रूपन्देही समितिका उपसभापति मित्रलाल न्यौपानेले रेडक्रस रुपन्देहीको जिल्लामा २० वटा उपशाखा रहेको र क्रियाशील रुपमा सामाजिक कार्यमा सक्रिय भएको जानकारी दिए । उपसभापति न्यौपानेले देवदह नगरपालिकाको समन्वयमा देवदहवासीलाई नि: शुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको बताए ।
साधारणसभाको अवसरमा संरक्षकको रुपमा ऋषिश्वर अर्याल, गोविन्द भुसाल र केशव खनाल, रेडक्रस सर्कलको रुपमा देवदह बुद्द पब्लिक, न्यू लुम्बिनी बोर्डिङ स्कुल, ग्रीन प्लान्ट आवासीय मावि र शिक्षक नायबको रुपमा ग्रीन प्लान्टका धनमाया शर्मा र सरस्वती माविका शङ्कर पाण्डेलाई सम्मान गरिएको छ ।
सोही अवसरमा रेडक्रस देवदहले आयोजना गरेको उपशाखा स्तरीय कविता वाचन प्रतियोगितामा सिनियर तर्फ क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेको देवदह बुद्ध पब्लिक स्कुलका लिल कुमारी चापागाईं, महामाया भवानी माविका सजल न्यौपाने, केरवानी माविका मनिषा भुसाल र ग्रीन प्लान्ट आवासीय माविकी स्वीकृति न्यौपाने र जुनियर तर्फ क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेको न्यू लुम्बिनी बोर्डिङका समीर गीरी, नमुना एभरग्रीनका आशिष रेग्मी, नारायणी पब्लिकका अहित कोहार र देवदह मदर टङ्स एकेडेमीका सुशान्त सुनारलाई पुरस्कार वितरण गरियो ।
साधारणसभामा सभापति कृष्ण प्रसाद न्यौपानेले सभापतिको प्रतिवेदन, उपसचिव खेमानन्द ज्ञवालीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष हरि प्रसाद ढुंगानाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology