देवदह । ग्रामीण सडक सुधार आयोजना अन्तर्गत भगवानपुर–ढेकावर–खैरेनी सडक परियोजना सम्बन्धी सरोकारवालाहरू बीच सहजीकरण कार्यक्रम देवदहमा सम्पन्न भएको छ । भगवानपुर–ढेकावर–खैरेनी सडक निर्माणका लागि ठेक्का प्रक्रियाबाट बानिया निर्माण सेवा संग सम्झौता भईसकेको छ । एडिवीको ८७ प्रतिशत र लुम्बिनी प्रदेश सरकारको १३ प्रतिशत लगानीमा शुरु भएको परियोजना २०८३ पौष ८ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको छ ।
भगवानपुर–ढेकावर–खैरेनी सडकको १२.५ किलोमिटर सडकको लागि ५० करोड १९ लाख ८ हजार एडिवीसंग रकम विनियोजना भएपनि सो सडक निर्माणको लागि बानिया निर्माण सेवा हेटौडाले ३७ करोड ९ लाख ६६ हजार २५५ रुपैयाँ ३७ पैसामा सम्झौता गरेको छ । यस आर्थिक बर्षमा भगवानपुर–ढेकावर–खैरेनी निर्माणको लागि ८ करोड ९३ लाख बजेट रहेको योजना प्रमुख नरेन्द्र खड्काले जानकारी दिए ।
भगवानपुर–ढेकावर–खैरेनी सडक २० मिटर चौडा हुनेछ भने एक मिटरको नाली रहने छ ।

सहजीकरण कार्यक्रममा बोल्दै वक्ताहरुले सडक निर्माण गर्दा विद्युत र खानेपानीको व्यवस्थापन गरेर मात्र अगाडि बढ्नु पर्नेमा जोड दिए । उनीहरुले विकास निर्माणको नाममा हुने लार्पावाहीका कारण मानवीय दुर्घटनासंगै वावतारण प्रदर्षण हुने भएकोले निर्माण कम्पनीले त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन् ।
पछिल्लो केही समय विकास निर्माणको नाममा नागरिकले दुःख भोगिरहेको बताउदै योजना समयमै सम्पन्न गर्नुपर्नेमा उनीहरुको जोड छ । समयमा काम सम्पन्न नगर्ने ठेकेदारका कारण धेरै योजनाहरु अलपत्र परेको अवस्था रहेको बताउदै निर्माणको समयमा देखिएका समस्या समाधान गर्न आफुहरु लाग्ने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं १ का सांसद छबिलाल विश्वकर्माले योजना सफल बनाउन सबै सरोकारवाला बीच सहकार्य र समझदारी आवश्यक रहेको बताए । उनले गुणस्तरीय र समयमा नै योजनाको काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।
"भगवानपुर–ढेकावर–खैरेनी सडक परियोजना क्षेत्र नम्वर १ को गौरवको योजना हो ।" सांसद विश्वकर्माले भने, "व्यवस्थित र योजनाबद्ध रूपमा निर्माण कार्य अघि बढाउनु पर्नेछ । यसमा निर्माणको जिम्मा लिने कम्पनी सबैभन्दा जिम्मेवार हुनुपर्छ ।
देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षतमा भएको कार्यक्रममा परियोजा प्रमुख नरेन्द्र खड्का, डिभिजन कार्यालय बुटवलका ईन्जिनियर महेश्वर लम्साल, नेपाल विद्युत प्राधिकरण बुटवलका प्रमुख कपिल पाण्डे, भैरहवाका प्रमुख सञ्जयकुमार मिश्र, वडाअध्यक्षहरु, खानेपानी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology