देवदह । लायन्स क्लब अफ देवदहका अध्यक्ष कृष्णराज पौडेलले लायन्स इन्टरनेसनलको "मेल्भिन जोन्स फेलो (एमजेएफ) फण्डमा एक हजार डलर सहयोग गरेका छन् । शुक्रबार लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी को डिस्ट्रिक्ट गभर्नर भिजिट कार्यक्रममा अध्यक्ष पौडेलले एक हजार अमेरिकी डलर अर्थात नेपाली एक लाख ३७ हजार नौ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
लायन्स क्लब अफ देवदहका संस्थापकसमेत रहेका अध्यक्ष पौडेल सन् २०१५ देखि निरन्तर क्लबमा सक्रिय छन् । उनी गत असार १४ गते क्लबको अध्यक्ष निर्वाचित भएका हुन ।
डिस्ट्रिक्ट गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गसमेत सहभागी कार्यक्रममा एरिया ३ रिजन ४ र जोन ९ अन्तर्गतका पाँचवटा क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर प्रधानाङ्गले लायन्स क्लबहरू सेवामूलक कामका लागि स्थापना हुने बताए । उनले जोन ९ अन्तर्गतका सम्पूर्ण क्लबहरूलाई सिग्नेचर कार्यक्रम मार्फत अगाडि बढ्न आग्रह गरे । 'एचिभ सक्सेस टुगेदर' लायन् वर्ष २०२४/२५ को नारा रहेको उल्लेख गर्दै उनले लायनहरु उद्यमसँग जोडिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा लाइन लाइन्स ३२५ पीका प्रथम उपाध्यक्ष बालाराम भट्टराईले डिस्ट्रिक्ट गभर्नर भिजिट कार्यक्रममा सम्पूर्ण क्लबका पदाधिकारीहरुलाई सुझाव दिएका थिए । जसमा डिस्ट्रिक्ट ३२५ पीका कोषाध्यक्ष प्रदीप श्रेष्ठले वित्तीय सुशासनको विषयमा प्रकाश पारे ।
कार्यक्रममा रिजन ४ का रिजन चेयर पर्सन विनोद थापा मगर, जोन-९ का जोन चेयरपर्सन बिमल भुसाल लगायतले बोल्दै यस क्षेत्रका सबै लायन्स क्लबहरूले मिलेर काम गरेमा हरेक कार्यक्रमहरु प्रभावकारी हुने बताए ।
लायन्स क्लब अफ देवदहका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षता, प्रोफेसनल युथका अध्यक्ष विजय अमगाईको स्वागत र सचिव दिनेश चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology