देवदह । सन्दिप आधारभूत विद्यालयले ३२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार एक औपचारिक समारोहबीच विद्यालयले वार्षिकोत्सव मनाएको हो ।
विद्यालयको वार्षिकोत्सव समारोहमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य निर्मला चौधरीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न शिक्षक, अभिभावक र समुदायको महत्वपुर्ण भूमिका हुने बताइन् । "कमजोर आर्थिक अवस्थाका बीच विद्यालयहरु संचालन भैरहेका छन् ।" सांसद चौधरीले भनिन्, "सबैको सहयोग र समन्वय विना विद्यालयले राम्रो नतिजा दिन सक्दैन । यसमा अभिभावकको भूमिका अझै बढी हुन आउँछ ।"
कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक अध्यक्ष कृष्ण प्रसाद गौडेलले मन्दिरको सत्तलमा तीन वर्षसम्म विद्यार्थी पढाएर सुरु गरिएको विद्यालय समुदायको सहयोगमै अहिलेको अवस्थामा आइपुगेको बताए । "हामीले एक हजारदेखि पन्ध्र सयसम्म संकलन गरेर बनाइएको यो विद्यालय हो ।" उनले भने, "यो देवदह-९ को एक मात्र विद्यालय हो । यहाँको गहना हो । विद्यार्थीको संख्या बढाएर यसलाई माध्यमिक विद्यालय बनाउने तर्फ सोच्न जरुरी छ ।"
विद्यालयका प्रधानाध्यापक दुर्गालाल तिवारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आम समुदाय र स्थानीय संघसंस्थासमेतको सहयोगले विद्यालय संचालनमा सहज भएको बताए । विद्यालयलाई स्थानीय प्रगति सामुदायिक वनले वार्षिक दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।
देवदह नगरपालिका वडा नं ९ का वडा अध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर जिसीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा जनप्रतिनिधि डोलराज न्यौपाने, सिता मावि प्रधानाध्यापक उमाकान्त अधिकारी, कालिका आविका प्रधानाध्यापक तेजबहादुर अर्याल, पुर्व शिक्षक चिन्तामणी खनाल, विद्यालयका शिक्षकहरु सुमित्रा पराजुली, सरस्वती बिष्ट लगायतले बोलेका थिए ।
कार्यक्रममा देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा १५० जना विद्यार्थी र अभिभावकले स्वास्थ्य परिक्षण गरेको विद्यालयले जनाएको छ ।
सो अवसरमा स्व. रुका सिवाकोटीको स्मृतीमा विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) समेत वितरण गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology