देवदह । रुपन्देहीको देवदह नगरपालिका–७ घोडाहा खोलामा निर्माण गरिएको सरनटाडी जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । घोडाहा खोलाले विभाजन गरेको देवदह-६ र ७ लाई जोड्ने उद्देश्यले निर्माण गरिएको 'सरनटाडी झोलुङ्गे पुल'को एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले शुक्रबार उद्घाटन गरे ।
पुलको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले दीगो विकासको लागि स्थानीय नागरिकको भूमिका महत्वपूर्ण रहने बताए । पुर्वमन्त्रीसमेत रहेका सांसद विश्वकर्माले स्थानीय नागरिकले राज्यले संचालन गर्ने आयोजनाको नियमित अनुगमन गरी सचेत गराउनु पर्नेमा जोड दिए ।
"स्मृति सामुदायिक वन उपभोक्ता समुहले संचालन गरेको प्रस्तरकला पार्कलाई व्यवस्थित गर्न सरनटाडी झोलुङ्गे पुल निर्माणले टेवा पु¥याउनेमा छ ।" उनले भने, 'महत्वपुर्ण पर्यटकीय गन्तब्य देवदहको विकासको लागि आवश्यक एउटा पुर्वाधारको रुपमा यो पुल तयार भएको छ ।"
सांसद विश्वकर्माले देवदहमा आउने पर्यटकलाई खर्च गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिंदै सरनटाडी झोलुङ्गे पुल हुदै राजमार्गसम्म दायाँबायाँ वृक्षारोपण र सौन्दर्यकरण आवश्यक रहेको बताए ।
स्मृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भरतकुमार गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेल, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, देवदह खानेपानीका अध्यक्ष गुमानसिंह कुवर, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरी भण्डारी लगायतले बोलेका थिए ।
५४ लाख ३८ हजार ९ सय ५२ रुपैयाको लागतमा पुल निर्माण भएको जनाइएको छ । स्थानीय उपभोक्ताको २ प्रतिशत, देवदह नगरपालिकाको १३ प्रतिशत र संघीय सरकारको ८५ प्रतिशतको लगानीमा झोलुङ्गे पुल निर्माण गरिएको झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष किशनबहादुर थापाले बताए ।
वनका उपाध्यक्ष अर्जुन ढकालको स्वागत र सचिव शुसिला भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology