लुम्बिनी । लुम्बिनी विकास कोषले बुद्धको अस्तीधातु रहेको रामग्रामबाट लुम्बिनीसम्म बुधबारदेखि विद्युतीय बस सञ्चालन शुरु गरेको छ । गत पुस ४ गतेदेखि सञ्चालन शुरु गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरुको सेवालाई लक्षित गरी रामग्रामबाट लुम्बिनीका लागि बस सञ्चालन शुरु गरिएको हो ।
बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई(सिद्धिचरण), रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बसमा सवार भएर सेवा सञ्चालन गरे ।
कोषले बृहत्तर लुम्बिनी क्षेत्रका पर्यटकहरुलाई सेवा दिने उदेश्यले अनुदानमा प्राप्त गरेको विद्युतीय बस कानुनी उल्झनका कारण सञ्चालन हुन सकेको थिएन ।
कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले सेतो नम्बर प्लेटका कारण बस सेवा सञ्चालन गर्न नसकेको अवस्थामा सबैको गुनासो आएपछि दानपेटिका राखेर परीक्षण स्वरुप बस सञ्चालन गरिएको बताए । उनले रामग्राम र बुद्धजन्मस्थल लुम्बिनी जोड्नका लागि हप्ताको तीन दिन विद्युतीय बस सञ्चालन गरिएको र भविष्यमा दैनिक एक वटा बस सञ्चालन गर्ने योजना रहेको बताए ।
यस्तै रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले आफूहरुले लामो समयदेखि विद्युतीय बस सञ्चालनका लागि माग गरेकोमा त्यसको शुरुवात भएको बताए । उनले रामग्राम र लुम्बिनी जोड्नका लागि विद्युतीय बसले ठूलो भूमिका खेल्ने बताए । उनले विजुली बस नियमित सञ्चालनका लागि आवश्यक वातावरण बनाउन स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए ।
रामग्रामबाट लुम्बिनीका लागि हप्ताका तीन दिन सोमबार, बुधबार र शुक्रबार विहान ९ बजे बस चल्नेछ । रामग्राम स्तुपबाट बुद्धचौक, परासी बजार, धकधई, बेलहिया भैरहवाको देवकोटा चौक, बुद्धचोक हुँदै एयरपोर्टबाट लुम्बिनी बस चल्ने गरी रुट मिलाइएको कोषका देवदह कार्यालयका प्रमुख दामोदर सापकोटाले बताए ।
उनका अनुसार देवदह र रामग्राममा शनिबारलाई आलोपालो गरी रुट बनाइने छ । लुम्बिनीदेखि सिधा बस सञ्चालन भएपछि रामग्राम आउने तीर्थयात्रुहरुलाई सहजता हुनेछ । बसमा सवारहरुले स्वेच्छिक रुपमा दानपेटिकामा सहयोग गर्न सक्नेछन् तर, कोषले भाडा वापत भने शुल्क लिनेछैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology