देवदह l लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले मगर समुदायले देशको संस्कृति संरक्षण र लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान दिएको बताएका छन्। नेपाल मगर सङ्घ, देवदह नगर समितिले माघे संक्रान्तिको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सारुले मगर समुदायलाई राज्यको मूल प्रवाहमा समेट्न नसक्दा उनीहरू पछाडि परेको बताएका हुन।
मन्त्री सारुले संविधानले दिएका अधिकारसमेत मगर समुदायले पूर्ण रूपमा उपभोग गर्न नसकेको भन्दै तीनै तहका सरकारले मगर संस्कार, भाषा र संस्कृति संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, "माघी पर्वलाई केवल खानपानको रूपमा मात्र नभई आपसी सद्भाव र संस्कृति संरक्षणको रूपमा मनाउनुपर्छ।"
कार्यक्रममा मन्त्रीले मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा अघि बढाउन सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने आवश्यकता औंल्याए। उनले शिक्षा र सांस्कृतिक संरक्षणलाई मगर समुदायको प्राथमिकतामा राख्न आग्रह गर्दै, समुदायमा रहेका विकृति र विसङ्गति अन्त्य गर्न जरुरी रहेको बताए।
"आफ्नो अधिकार खोज्दा अरूको अधिकार हनन गर्नुहुँदैन," मन्त्री सारुले भने। "सबै जातजातिबीच सद्भाव कायम गर्न सकियो भने मात्र देश समृद्धिको दिशामा अघि बढ्न सक्छ।" उनले प्रदेश सरकारले मगर समुदायका चाडपर्वलाई विशेष चासोका साथ हेर्दै आएको र आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले सबै जातजातिको धर्म, संस्कृति र परम्परा संरक्षण गर्न नगरपालिकाले सहयोग गरेको बताइन् । उनले सिमित श्रोत साधन भएका कारण नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै देवदहलाई समृद्धि बनाउने अभियानमा देवदहवासीको सहयोग रहेको बताइन ।
आदिवासी जनजाति समुदायहरूमध्ये सबैभन्दा ठूलो समुदाय मगरहरूले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वको रूपमा मनाउने गरेका छन् । मगरहरूको आफ्नै भाषा, संस्कृति, संस्कार र इतिहास भएको र भाषाको हिसाबले बाह्र मगरात, अठार मगरात र काइकेई मगर भाषा बोल्ने गरेको नेपाल मगर संघका सहअध्यक्ष दलबहादुर विरकट्टाले बताए । उनले मगरहरू प्रकृतिपूजक रहेको र माघे संक्रान्ति पर्व पनि एउटा प्रकृति पुज्ने अवसरको रूपमा लिने गरेको बताए ।
देवदह पानवारि खेलमैदानमा भेला भएका मगरहरूले बाजागाजा, विभिन्न संस्कृति झल्कने कौरा, चुड्का, घाटु लगायतका नाच प्रस्तुत गरेका थिए। आफ्नै जातीय पहिचान झल्किने भेषभूषा र गरगहना पहिरिएर मगर समुदायका महिला र पुरुष माघी मनाउन जुटेका थिए। मगर समुदायको पहिचान झल्किने नृत्य पनि प्रस्तुत गरिएको थियो। आफ्नो संस्कार र संस्कृतिअनुसारको खानपानको पनि बन्दोबस्त गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय कलाकार राजु गुरुङ्ग, रितु थापा तथा स्थानीय कलाकारहरुको सास्कृतिक प्रस्तुतीमा दर्शक झुमेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology